site stats
बाह्रखरी :: Baahrakhari
देश
गैँडा तस्करीका चार फरार अभियुक्त पक्राउ
फाइल तस्बिर ।

चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका चारजनालाई निकुञ्जले पक्राउ गरेको छ । विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्यान्ड क्षेत्रमा एकसिंगे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४, मचानबाट पक्राउ गरिएको हो । सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार, सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका–७, भालुमाराबाट पक्राउ गरिएको हो । उनी १७ वर्षदेखि फरार थिए ।

यसैगरी, २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो । दुवैजनालाई यही पुस २४ गते राप्ती नगरपालिका–११, सिमलटाडीबाट पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । सो मुद्दामा चारजना प्रतिवादी रहेका थिए ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताए । रासस

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्