
काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ । उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा उनीहरूको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
“...परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था)को सहयोगमा यही मिति २०८२।०३।०५ गते पैँतिस (३५) जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरेको थियो,” दूतावासले शनिबार (असार ७) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई त्यहाँ बोलाएर बन्दी बनाइएको थियो । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरिएको थियो ।
उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ । उत्तराखण्डका अरू स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको दूतावासले जनाएको छ ।
“उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइनेछ,” दूतावासले भनेको छ ।