site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा...
प्रतीकात्मक तस्बिर ।

बाँके । संघीय सरकारद्वारा अनुदानमा बाँकेको नरैनापुरका किसानका निम्ति पठाइएको मल बाटोबाट हराएको पाइएको छ । नरैनापुर गाउँपालिका–५, मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो ।

नरैनापुरका किसानका निम्ति कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २०० बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्र फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेस भएको छ । बाँकी हुनुपर्ने १३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुख समेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल ‘सिल’ गरिएको छ । गायब भएको १३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्