site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महतको दाबी : अर्थमन्त्री भएको ११ महिनामा बिग्रिएको अर्थतन्त्र सुधारेँ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । 

सोमबारदेखि गोदावरीमा जारी नेपाली कांग्रेसको महासमितिको मंगलबारको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् । उनले सरकारमा चैतमा अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको वाह्य क्षेत्रलगायतको सुधार गरेको जिकिर गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थमन्त्री महतले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा भए पनि कार्यभार सम्हालेको ११ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक बनाउन सफल भएको उल्लेख गरे । महतले पर्यटक आगमन, होटेल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको सभालाई जानकारी दिए । 

नेपालमा रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको, विद्युत् उत्पादन र निर्यात बढेको, घरजग्गा र सेयर बजार कारोबार वृद्धि हुँदै गएको र सार्वजनिक खर्च बढ्दो क्रमा रहेको उल्लेख गरे । आगामी दिनमा सरकारको पूँजीगत खर्च वृद्धि हुने विश्वास रहेको उनले बताए । सरकारको बजेट प्रणाली र बजेट विनियोजनभन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको रहेका आयोजनालाई  रोक्ने काम गरेको बताए ।

उनले निजी क्षेत्रमा निराशा रहेकोमा अहिले मनोबल उच्च बनाएको बताए । समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधारसँगै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको पनि जानकारी गराए । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्