site stats
बाह्रखरी :: Baahrakhari
खेल
आरसी–३२ को विजयी सुरुआत, पेनाल्टी सदुपयोग गर्न नसक्दा खालीबारीको हार 
तस्बिर : एन्फा

काठमाडौं । खेल सकिन सात मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब आरसी–३२ क्लबसँग १–० ले पराजित भएको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आरसीलाई जित दिलाउन बबिन बोहराले निर्णायक गोल गरे । बबिनले २२औँ मिनेटमा गोल गर्दै आरसी ३२ लाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा आरसीले लिगमा विजयी सुरुआत गरेको हो । खेलको ८३औँ मिनेटमा खालीबारीले बराबरीको सुन्दर अवसर खेर फाल्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आरसीका रक्षकले मनिष गुरुङमाथि फाउल गरेपछि खालीबारीले पेनाल्टी पाएको थियो । तर, रोनल राईले गरेको प्रहार बाहिरिँदा खालीबारी बराबरीमा फर्किन चुकेको हो । त्यसअघि ६५औँ मिनेटमा मनोज तामाङले बिल्सन गिरीमाथि फाउल गरेपछि आरसीले पनि पेनाल्टीको अवसर पाएको थियो । तर, विवेक सन्तोषीले गरेको प्रहार खालीबारीका गोलकिपर मनोजले विफल बनाएका थिए । 

करिब तीन महिनासम्म सञ्चालन हुने लिगमा १४ टोलीको सहभागिता छ । आजदेखि सुरु भएको सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ । 

शीर्ष दुई टिम ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टिम ‘सी’ डिभिजन छनोटमा खस्कनेछन् । लिग विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

प्रतियोगिताको ‘फेयर प्ले टिम’ले ५० हजार र अरू व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल बजेट तीन करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

प्रतियोगितामा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीबन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, समाजकल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ । 

प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका पाँच टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको प्रतिटिकट मूल्य सामान्य प्यारापिटतर्फ १०० र भीआईपी प्यरापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्