site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष 

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । 

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेको भन्दै छानबिन गर्न प्रतिपक्षले उठाएको माग सम्बोधन गर्नुको साटो बेवास्था गरी सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद्मा आफूहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएको र सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको बताए । जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना र ठगी भएको जनविरोधी कार्यमा सरकारका मन्त्री संलग्न रहेको पुष्टि स्वयं सरकारले नै गरेको समेत उनले दाबी गरे । 

प्रमुख सचेतक लेखकले हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसले घोर भत्र्सना गरेको भन्दै सरकारलाई संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम नगर्न चेतावनी दिए । 

उनले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्यासित रूपमा अन्त्य भएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षको तर्क लज्जास्पद रहेको भन्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले दुई दिनमात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए । 

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्