site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी सम्मेलनका निम्ति कुन देशबाट कति आउँदै छन् प्रतिनिधि ?

काठमाडौ । तेस्रो लगानी सम्मेलनका निम्ति स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता निश्चित भएको छ । दुईदिने लगानी सम्मेलन आइतबारदेखि सुरु हुँदै छ ।

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणानुसार, सम्मेलनका लागि दुई हजार ४०० भन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका निम्ति आउँदै छन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता निश्चित भइसकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३, जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौजना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चारजनाको सहभागिता रहने जनाइएको छ ।

यसैगरी, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन/तीनजना सम्मलेनका निम्ति नेपाल आउँदै छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने निश्चित भएको छ ।

इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहनेछ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ ।

आइतबारदेखि काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनका निम्ति १५० आयोजना ‘सोकेस’मा राखिँदै छ । सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछ ।

सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका निम्ति आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान, सोकेस, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल १५० परियोजना प्रस्तुत गरिनेछ । पहिलो दिन उद्घाटनसत्र र दुई मुख्य सत्र सञ्चालन गरिनेछ । दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन गरिनेछ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्