site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार ६०० मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी सम्झना शर्माका अनुसार गत वर्ष १७ करोड रुपैयाँको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँका दरले बिक्री भएको छ । बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाख रुपैयाँको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार रुपैयाँ तथा रघुगंगाबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताइन् । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाख रुपैयाँको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४, को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाख रुपैयाँको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।

म्याग्दीमा ८१० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा ४२० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव ६ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उनले भने, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३, राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि ६२ लाख रुपैयाँ अनुदान दिन छनोट गरेको जनाएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्