site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रुपैयाँ ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

“चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड थप प्राप्त भई कुल ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ,” सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको वैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँबराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीपीडी)को २०.७६ प्रतिशत प्रतिशतबराबर हो ।

यस्तै, बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँबराबर पुगेको छ । जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशतबराबर हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कुल दुई खर्ब ६४ अर्ब ६३ करोडबराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँबराबर साँवाब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर हो ।

यस्तै, साँवाब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँ बराबर भुक्तानी भएको छ ।

गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशतबराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा दुई खर्ब ६५ अर्ब रुपैयाँ ऋण प्राप्ति भएको छ,” कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षका निम्ति सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रुपैयाँबराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब रुपैयाँबराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७०.५७ प्रतिशत बराबर हो । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्