site stats
बाह्रखरी :: Baahrakhari
देश
सांसद अनुदान रकममा भ्रष्टाचार, नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभा कुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख संजय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, नवराजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नं. ५ का तत्कालीन वडाध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।दायर गरिएको मुद्दामा सबै जनासँग १४ लाख ५१ हजार ५५१ रुपैयाँ बिगो दाबी गरिएको छ । 

नवराजपुर गाउँपालिका–२, मझौरामा प्रदेश–२ सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७७/७८ मा राम जानकी दलित आधारभूत विद्यालय भवनको काम नै नगरी १४ लाख ५१ हजार ५५१ रुपैयाँ खर्च भएको भनि भुक्तानी दिएको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्