site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्ड अध्यक्षको प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै समितिले हालसम्मका सम्पूर्ण छनोट प्रक्रिया रद्द गरिएको जनाएको हो ।

समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । आज समितिले एक सूचमार्फत त्यसयताका सबै प्रक्रियाहरू रद्द गरिएको बताएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोर्डको अध्यक्षका लागि तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका प्रमुख कार्यकारी अधिकारी (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी,  मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोषनारायण श्रेष्ठ सर्टलिस्टमा परेका थिए ।

उनीहरूमध्ये मुक्तिनाथ र व्यवसायी सन्तोषनारायण मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका थिए । 

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएका चापागाईं, कार्की र अधिकारीलाई समितिले दोस्रोपटक असार ५ गतेका लागि बोलाएको थियो । तर, उनीहरू दोस्रोपटक पनि सहभागी नभएपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्न राय दिएको थियो । धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था छ ।

सरकारले गत वर्ष माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य थिए ।

समितिमा संयोजक श्रेष्ठ र सदस्य निरौलाले पाँचै जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्न सकिने प्रस्ताव गरेका थिए । तर, अर्थसचिव मरासिनी उनीहरूको प्रस्तावमा सहमत नभएपछि दुईपटक बसेको समितिको बैठकले अध्यक्ष सिफारिस गर्न सकेन ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्