site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेलधुरामा पहिरोमा परी एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, रानीकोटमा अवरुद्ध मध्यपहाडी राजमार्गको दृष्य । तस्बिर : बलबहादुर ओली/रासस ।

डडेलधुरा । डडेलधुरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा परशुराम नगरपालिका–३, बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो ।

शनिबार बेलुका पहिरोबाट खसेको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिरोबाट खसेको ढुंगा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परशुराम–३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

तीन दिनदेखि लगातार वर्षाका कारण तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्ने सडकमा क्षति भएको छ । भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो ।

शाहुखर्कमा आइतबार बिहान पहिरो खसेको थियो । भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आजै दिउँसोदेखि राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनका अनुसार, आइतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ ।

तर, शनिबारदेखि अवरुद्ध बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोलानजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जानकारी दिए । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए ।

ग्रामीण कच्ची सडक पूर्ण रूपमा बन्द छ । किसानले लगाएको मकैबालीमा वर्षाले ठूलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले मकैबाली नष्ट गरेको किसान बताउँछन् ।

किसानले लगाएको मकैका बोट सबै ढलेको छ । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अरू खेतीपातीमा क्षति पुगेको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्