site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको राज्यमा पनि विदेश सचिव ? असंवैधानिक भन्दै विवाद

नयाँदिल्ली । भारतको एउटा राज्य केरलामा त्यहाँको सरकारले आईएएस (इन्डियन एडमिनिस्ट्रिेटिभ सर्भिस)का अधिकारीलाई विदेशसचिव नियुक्त गरेपछि त्यहाँ विवाद भएको छ । हालै केरला सरकारले डा. के. वासुकीलाई वैदेशिक सहयोग मामिला हेर्ने गरी विदेशसचिव नियुक्त गरिएको घोषणा गरेको थियो ।

संघीयता भएका मुलुकमा अक्सर विदेश, रक्षा र आर्थिक मामिला संघीय सरकारले हेर्ने व्यवस्था गरिएको हुन्छ । तर, भारतको केरला राज्य सरकारको यो निर्णयले भारतको संविधानको नै उल्लंघन गरेको भन्दै  विवाद भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यहाँको सरकारले जुलाई १५ मा एक आदेश जारी गर्दै त्यहाँका श्रम तथा सीपसम्बन्धी सचिवलाई वैदेशिक सहयोगसम्बन्धी विषय समेत हेर्ने गरी जिम्मेवारी दिइएको जनाएको थियो ।

उनलाई विदेशस्थित दूतावासहरूसँग समेत आवश्यक व्यवहार गर्न जिम्मेवारी दिइएको जनाइएको छ । जबकी विदेशस्थित दूतावाससँग संघीय सरकारमार्फत विदेश मन्त्रालयले आवश्यक व्यवस्था गर्ने गरेको छ ।

विपक्षी कांग्रेस पार्टीका नेता तथा पूर्वकूटनीतिज्ञ शशी थरुरले शनिबार सो विषयमा टिप्पणी गर्दै राज्यमा विदेशसचिव नियुक्तिको विषय असामान्य भएको बताएका छन् ।

सत्तारुढ भाजपाका स्थानीय नेता के सुरेन्द्रनले पनि त्यहाँको सरकारले गरेको नियुक्ति गैरसंवैधानिक भएको जनाउँदै केरलाका मुख्यमन्त्रीले नै राज्यलाई अलग देश बनाउन खोजेको त होइन भनी प्रश्न उठाएका छन् ।

केरलामा अहिले पिनारायी विजयन मुख्यमन्त्री छन् । भारतीय कम्युनिस्ट पार्टी माक्सवादीका पोलिटब्युरो सदस्य विजयन सन् २०१६ को मे महिनादेखि नै त्यहाँको मुख्यमन्त्री रहँदै आएका छन् । एजेन्सी

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्