site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गुरु

गुरु हुन् गुणका खानी
ब्रह्मा, विष्णु, महेश्वर
गुरु हुन् मैनझैँ त्यागी
झल्को दिन्छन् बराबर ।१।

गुरु हुन् जगका माली
सुन्दर फूल फुलाउँछन्
गुरु हुन् स्वप्नद्रष्टा ती
सुनौलो विश्व देखाउँछन् ।२।

गुरु हुन् शीतलु छाया
वटवृक्षको झैँ सुन्दर
गुरु हुन् ज्ञानका सिन्धु
बाँड्छन् ज्ञान बराबर ।३।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुरु हुन् सतका मार्गी
असल मार्ग हिँडाउँछन्
गुरु हुन् प्रेमका सागर
निश्चल प्रेम बर्साउँछन् ।४।

गुरु हुन् नदीझैँ वेग
जीवन गति प्रदायक
गुरु हुन् सिर्जना कल्प
बन्दछ जीवन लायक ।५।

गुरु हुन् यी शैल श्रेणी
हुन् विश्वासका साधक
गुरु हुन् तेजस्वी योगी
हुन् दुराचारका बाधक ।६।

गुरु हुन् शान्तिका ध्वनि
मानवताका हिमायती
गुरु हुन् कर्मले माझी
दिन्छन् जीवनको गति ।७।

पूरा गर्न सक्छौँ जब
गुरुका यी स्वप्न दर्शन
अनि मात्र होला पूर्ण  
अमूल्य हाम्रो जीवन ।८।

(तिलोत्तमा, रुपन्देही)

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्