site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योगीले बक्यौता तिरेपछि मात्रै बिजुली जोड्न प्राधिकरणका ट्रेड युनियनहरूको माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ट्रेड युनियनहरूले डेडिकेटेड तथा ट्रंकलाइनको हिसाब मिलान गरेपछि मात्रै लाइन जडान गर्न माग गरेका छन् । प्राधिकरण सम्बद्ध ट्रेड युनियनले आइतबार एक ध्यानाकर्षण पत्रमार्फत हिसा मिलान गरेपछि मात्रै लाइन जडान गर्न माग गरेका हुन् ।

प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेकोबारे ध्यानाकर्षण गराउँदै हिसाब मिलानपछि मात्रै लाइन जोड्नुपर्ने माग गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणको भविष्य देशको विद्युत् विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानि नोक्सानी हुने काम कतैबाट हुन नहुने उनीहरूको भनाइ छ ।

उनीहरूले डेडिकेटेड फिडर तथा ट्रेड लाइनको विद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू प्राधिकरणलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न तयार रहेको जनाएका छन् ।

उनीहरूले प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने पनि चेतावनी दिएका छन् ।

उद्योगीहरूले विद्युत्को लागतसमेत उत्पादित वस्तु तथा सामग्रीहरूमा समायोजन गरी बिक्री गरेको यथार्थ सबैले अनुभूति गरेको र निरन्तर विद्युत् सुविधा लिएका उद्योगीले आफूले उपयोग गरेको विद्युत्‌को महसुल नतिर्न गरिरहेको बाहनाबाजीको प्राधिकरणले सामना गरिहरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

“विद्युत् महसुल नतिर्ने आम विद्युत् उपभोक्ताको लाइन काटी विद्युत महसुल असुलउपर गरिँदै आएको सन्दर्भमा आम उपभोक्तालाई अन्धकारमा राखी डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत २४ सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगीहरूले महसुल भुक्तानी नगर्ने कुरा खेदजनक छ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्