site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा फूल खेती : तीन अर्बको बजार, कति हुन्छ आयात ?

काठमाडौं । नेपालमा तीन अर्ब रुपैयाँभन्दा बढीको फूल खपत हुने गरेको देखिएको छ । फ्लोरिकल्चर एसोसिएनस नेपालका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/०८० मा तीन अर्ब सात करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको हो ।

यो तथ्यांक अघिल्लो वर्ष २०७८/०७९ को तुलनामा ३३.६३ प्रतिशतले बढी हो । त्यस वर्ष दुई अर्ब ३० करोडको फूलको कारोबार भएको थियो ।

फ्लोरिकल्चर एसोसिएनस नेपालका (एफएएन–फ्यान)का अनुसार नेपालमा १ हजार ११६ फूल (पुष्प) व्यवसायी छन् । ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा भइरहेको फूल व्यवसायका क्षेत्रमा ४४ हजार जनाले रोजगार पाएको एसोसिएनसको तथ्यांक छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा सिजनल फूल बिरुवा, आलंकारिक बोटबिरुवा, कट फ्लावर्स, ल्यान्डस्केप तथा गार्डेनिङ, खुला फूल, सयपत्री, मखमली तथा गोदावरीको मालालगायतको कारोबार तथा उत्पादन हुने गरेको छ ।

Flower-1721567604.jpg
 

आयात–निर्यात कति ?

आर्थिक वर्ष २०७९/०८० मा तीन अर्ब ७ करोड रुपैयाँको फूल कारोबार हुँदा ३३ करोड रुपैयाँको फूल आयात भएको एसोसिएसनको भनाइ छ । यस अवधिमा ६८ लाख रुपैयाँको मात्रै फूल निर्यात भएको एसोसिएनसको तथ्यांक छ । 

सरकारले कृषिको अन्य क्षेत्रभन्दा पुष्प व्यवसायलाई कम प्राथमिकता दिएको व्यवसायीको गुनासो छ । त्यसैले यस क्षेत्रमा अनुसन्धान र विकास धेरै हुन नसकेको व्यवसायीको भनाइ छ ।

सरकारी नीति सहज नहुँदा, बिमा नहुँदा र ट्यारिफहरू अनकूल नहुँदा यस क्षेत्रले उत्पादन, बजारीकरण र निर्यातमा समस्या भोगिरहेको एसोसिएसनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्