site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।

निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले सोमबार (आज) पर्यटनमन्त्री पाण्डेलाई उनको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गरे । जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उनीहरूले माग गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान)का अध्यक्ष प्रभा कार्कीले जानकारी दिइन् । आफूहरू कर्मचारी सञ्चय कोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उनले बताइन् । 

नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब १७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिइन् । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रूपमा भेट गरेको हो ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरूको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधनसहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरूभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीको भनाइ छ । 

एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रूपमा परिभाषित छन् भने विमान चालक (पाइलट)हरू ‘ककपिट क्रू’ का रूपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै देशहरूमा पाइलट र एयरहोस्टेसलाई ‘फ्लाइड क्रू’ का रूपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ ।

“निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छ भने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ । सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्त्वपूर्ण सेवा गरेकाले हामीहरूलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रूपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ,” सुझावपत्रमा उल्लेख छ ।

“एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने” विनियमावलीको व्यवस्थाले पीडा दिएको उनीहरूको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा कार्यरत छन् । रासस

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्