site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालले सार्क विदेशमन्त्री स्तरीय बैठक आयोजनाको पहल गर्दै 

काठमाडौं । नेपालले असोजको दोस्रो साता अमेरिकाको न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्री स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको छ ।  

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको साइडलाइनमा सार्क विदेशमन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सार्कका सबै सदस्य राष्ट्रलाई हामीले बैठकको लागि निम्तो दिएका छौँ,” प्रवक्ता राईले भने, “सबै सदस्य राष्ट्रले सहमति जनाए बैठक हुन्छ ।” एउटा मात्र सदस्य राष्ट्रले बैठकमा सहभागी नहुने जनाए बैठक रद्द हुन्छ ।

नेपालले बैठकको लागि आगामी असोज १० गतेको मिति प्रस्ताव गरेको छ । सदस्य राष्ट्रले हालसम्म बैठकमा सहभागी हुने वा नहुने भन्ने कुनै जानकारी दिएका छैनन् । 

नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सन् २०१४ मा नेपालमा सार्क शिखर सम्मेलन भएपछि अर्को शिखर सम्मेलन हुन सकेको छैन । नेपालपछि सार्क शिखर सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो । 

भारत र पाकिस्तानबीच राजनीतिक तनाव बढेपछि सार्क शिखर सम्मेलन स्थगित हुँदै आएको छ । नेपालमा शिखर सम्मेलन भएको १० वर्ष बित्दा पनि अर्को शिखर सम्मेलन हुन सकेको छैन, जसका कारण सार्कका धेरै गतिविधि ठप्प भएका छन् । 

राष्ट्रसंघको महासभाको साइडलाइनमा जहिले पनि सार्क विदेशमन्त्री स्तरीय अनौपचारिक बैठक बस्ने गर्छ । भारत–पाकिस्तान राजनीतिक तनावका कारण पछिल्ला चार वर्षमा यो बैठक पनि बस्न सकेको छैन । नेपालले यस वर्ष पनि बैठक आयोजनाको लागि पहल सुरु गरेको छ । सबै सदस्य राष्ट्र सकारात्मक भए आगामी असोज १० गते न्युयोर्कमा बैठक बस्नेछ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्