
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बिहीबार (असार ५) बस्ने तयारी छ । यसअघि नै बस्नुपर्ने बैठक महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले राजनीतिक सहमति जुटाउन नसक्दा ढिलाइ भएको हो ।
बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई समितिको बैठकबाट ‘बाइकट’ गर्न खोजेपछि सहमति जुट्न नसकेको महानगर स्रोतले जनाएको छ ।
गुरागाईंले आजको बैठकबारे कुनै जानकारी नभएको बताए । “मलाई कुनै जानकारी आएको छैन, थाहा पनि छैन,” उनले बाह्रखरीसित भने ।
बालेनको सचिवालयका एक सदस्यले भने, “आज बैठक बस्ने प्रबल सम्भावना छ । मेयर साबले पहिलेदेखि नै बैठकको प्रयास गर्दै आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतबिना बैठक हुँदैन ।”
महानगरका प्रवक्ता नवीन मानन्धरले बैठकको टुंगो नलागेको बताए । “बैठक कति बेला बस्ने भनेर टुंगो लागिसकेको छैन । मलाई जानकारी पनि आएको छैन,” उनले भने ।
बुधबार (असार ४) बिहान ११ बजेका निम्ति बोलाइएको बैठक स्थगन गरिएको थियो । समितिका सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । कानुनतः प्रमुख प्रशासकीय अधिकृतबिना बैठक बस्न सक्दैन ।
६ महिना लामो विवादका कारण महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । स्थानीय तहले असार १० गतेसम्म बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।