site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमाको आठ अर्ब भुक्तानी रोकियो, सेवा बन्द गर्ने सरकारी अस्पतालकै चेतावनी 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रवाहबापत अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने करिब आठ अर्ब रुपैयाँ रोकिएको छ । आर्थिक वर्ष २०८०/०८१ को माघयताको भुक्तानी बोर्डले गर्न सकेको छैन ।

बिमा सेवा प्रदान गरेबापत‌को शोधभर्ना रकम लामो समयदेखि रोकिएपछि सरकारी अस्पतालहरूले नै सेवा रोक्ने चेतनवनी दिएका छन् । त्रिवि शिक्षण अस्पतालले सूचना नै जारी गरेर भदौ १३ गतेबाट अन्तरंग सेवाका बिरामीको उपचार स्वास्थ्य बिमा प्याकेजमार्फत गर्न नसकिने जानकारी गराएको थियो । 

बोर्डले परिमार्जन गरेको नयाँ सुविधा थैलीअनुसार बिमितलाई सेवा दिन असमर्थ रहेको शिक्षण अस्पतालको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, दैनिक झन्डै दुई हजार बिरामीलाई ओपीडी सेवा दिने अस्पतालले अन्तरंगमा बिमा सेवा रोक्ने चेतावनी दिएपछि बिमा बोर्डका पदाधिकारी नै छलफलका लागि अस्पताल पुगेका थिए । बुधबार भएको छलफलमा हालसम्मको बाँकी भुक्तानी रकम एक महिनाभित्र पठाउने सहमति भएपछि सेवा नरोक्ने निर्णय भएको थियो ।

“हालसम्म रोकिएको रकम एक महिनाभित्र भुक्तानी गर्ने सहमति भएको छ । अब सेवा नरोकिने भयो,” अस्पतालका प्रशासन प्रमुख प्रमोद निरौलाले भने । 

निरौलाका अनुसार त्रिवि शिक्षण अस्पतालले बिमा सेवा सुरु गरेको वर्ष २०७७ देखिकै भुक्तानी बाँकी छ । आंशिकरूपमा शोधभर्ना पाठाए पनि झन्डै ६६ करोड रुपैयाँ बाँकी रहेको उनले बताए । 

"हाम्रो दाबीलाई अरू निजी अस्पतालहरूसँग दाँजेर कहिलेकाहीँ २–४ करोड रुपैयाँ किस्तामा दिने गरेको छ, त्यसरी चल्न ठूलो अस्पताललाई गाह्रो भैहाल्छ नि, फेरि टिचिङले झुटो दाबी गर्छ र यस्तो ढिलासुस्ती गर्नलाई ?," निरौला भन्छन् ।

यता बोर्डले भने बजेट अभाव भएर केही महिनायता भुक्तानी गर्न नसकेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला स्वास्थ्य मन्त्रालयबाट नै रकम निकासा नभएकाले भुक्तानी रोकिएको बताउँछन् ।

Teachin-Press-1724933931.jpgडा. बसौलाका अनुसार, ०८० माघदेखि सबै सेवा प्रदायक स्वास्थ्य संस्था (४७६ वटाकै) शोधभर्ना पठाइएको छैन । बोर्डले त्रैमासिकरूपमा शोधभर्ना रकम भुक्तानी गर्ने गरेको छ ।

“अन्तिमपटक पुसमा १३ अर्ब रुपैयाँ पठाएका थियौँ । माघयताको बाँकी हो, माघदेखि असारसम्मको पठाउन सकिएको छैन,” उनले भने ।

निर्देशक बसौलाका अनुसार, ४७६ स्वास्थ्य संस्थाको माघदेखि असारसम्मको शोधभर्ना पठाउन आठ अर्ब रुपैयाँ आवश्यक हुन्छ, जुन रकम बोर्डसँग तत्काल छैन । रकम निकासाका निम्ति मन्त्रालयमा प्रक्रिया गरिरहेको उनको भनाइ छ ।

बोर्डले दाबी रकम रुजु गर्न समय लाग्ने कारण बिमा सेवाबापतको शेधभर्ना रकम भन्दै दाबी गरेको कम्तीमा तीन महिनापछि मात्रै भुक्तानी गर्दै आएको छ ।

पछिल्लोपटक भने ०८० फागुनसम्मको रुजु गरिसकेको र असारसम्मकै शोधभर्ना रकम रुजु गरी आगामी एक महिनाभित्र हालसम्मको बक्यौताको ५० प्रतिशत भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा २०८१ असारसम्म करिब ८३ लाख नागरिक आबद्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्