site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानमा सञ्चार उपकरण विस्फोट ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’
तस्बिर : एपी ।

न्युयोर्क । संयुक्त राष्ट्रसंघले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने जनाएको छ ।

इरान समर्थित हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मंगलबार र बुधबार गराइएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । घटनामा करिब तीन हजारजना घाइते भएका थिए । 

पेजर र वाकीटकी विस्फोट हुँदा केही प्रयोगकर्ता सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतंक निम्त्याएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्छ,” मानवअधिकारका निम्ति संयुक्त राष्ट्रसंघका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीनसत्रमा सुरक्षा परिषद्‌मा भने ।

“नागरिकमा आतंक फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो,” उनले स्वतन्त्र र पारदर्शी अनुसन्धानका निम्ति आफ्नो आह्वान दोहोर्‍याउँदै भने ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणमा देशमा प्रवेश गर्नुअघि बुबी–ट्र्याप जडान गरिएको उनीहरूले बताएका छन् ।

हिजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ । विस्फोटको आन्तरिक अनुसन्धान सुरु गरेको छ ।

सुरक्षा परिषद्‌मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाका रूपमा व्याख्या गरेका छन् ।

“इजरायलले यस आतंकवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लंघन गरेको छ,” उनले भने ।

इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसंघ चिन्तित रहेको बताए । उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्