site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आतिशीले लिइन् दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ
तस्बिर : पीटीआई ।

नयाँ दिल्ली । आम आदमी पार्टी (आप)की नेत्री आतिशी मार्लेना सिंहले शनिबार राजनिवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । 

आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रिपरिषद्को सदस्यका रूपमा शपथ लिएका छन् ।

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्वशिक्षामन्त्री मनीष सिसोदियाको सल्लाहकारका रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकामा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट खुसी भएको शपथपछि आतिशीले बताइन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आउँदो विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीका रूपमा फिर्ता ल्याउन आफूले कडा मिहिनेत गर्ने उल्लेख गरिन् ।

उनले भनिन्, “सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु । उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका निम्ति मलाई विश्वास गर्नुभयो ।”

नवनियुक्त मुख्यमन्त्री आतिशीले भनिन्, “यो नेता केजरीवालको नेतृत्व र आम आदमी पार्टीमा मात्र गर्न सकिन्छ, पहिलोपटक राजनीतिज्ञ भएको व्यक्ति राज्यको मुख्यमन्त्री बन्छ । म सामान्य परिवारबाट आएको हुँ । यदि, म अन्य कुनै पार्टीमा भएको भए सायद मलाई चुनावको टिकट समेत दिइने थिएन ।”

आम आदमी पार्टीका विधायक मुकेश अहलावतले भने, “अरविन्द केजरीवाल र बाबा साहेबका कारण मजस्ता व्यक्ति मन्त्री बनेका हुन् । हाम्रो प्राथमिकता दलित र पिछडिएका समुदायका निम्ति काम गर्ने हुनेछ । हामीले सम्भव भएसम्म दलित र पिछडिएका समुदायको हक र हितका लागि काम गर्नेछौँ ।”

नेतृत्व परिवर्तन र दलको आउँदो कार्यदिशाबारे आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री कैलाश गहलोतले भने, “पार्टीको राष्ट्रिय संयोजकको रूपमा अरविन्द केजरीवालको मार्गदर्शन रहिरहनेछ । हाम्रो एक मात्र लक्ष्य दिल्लीका जनताका निम्ति पहिलेजस्तै काम गरिरहनु र अरविन्द केजरीवाललाई फिर्ता ल्याउनु हो ।”

आतिशीले हाल दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छिन् । उनले दिल्ली सरकारका धेरै जिम्मेवारी हेरिसकेकी छन् । उनी सन् २०२३ मा दिल्ली सरकारको मन्त्रिपरिषद्‌मा सामेल भएकी थिइन् । उनले नै आउँदो विधानसभा चुनावको तयारीका निम्ति आम आदमी पार्टीको नेतृत्व गर्नेछिन् । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्