site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हवाई उडानमा चाप, एकैदिन ३५ हजारभन्दा बढीले गरे हवाईयात्रा
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सिजन सकिनै लाग्दा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धेरै सडक सञ्जाल अवरुद्ध भएको छ । 

केही दिन काठमाडौं आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ । 

काठमाडौंबाट भोजपुर जाने प्रतिक्षामा रहेका अनिल अधिकारीले सडकबाट जाने अवस्था नरहेको र हवाई टिकट पाउन नसकेको गुनासो गरे । उनले भने, “एक सातादेखि एयरलाइन्समा धाइरहेको छु, टिकट छैन भनेर फर्काउने गरेका छन् । एयरलाइन्सले फूलपातीसम्म सबै सिट अग्रिम बुकिङ भइसकेको भनिरहेका छन् । खै, यसपटक कसरी घर जाने होला ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडकमार्ग असहज भएकाले महँगो भए पनि यात्रु हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौंबाट धनगढी जान टिकटका लागि धेरै प्रयास गरे पनि हालसम्म आफ्नो समस्या समाधान नभएको कोटेश्वरका अमित सुनारले बताए । 

काठमाडौंबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सीमित उडानका कारण दसैँका लागि सबै टिकट सकिएको बताए । फूलपातीदेखि विजयादशमीसम्म भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा टिकट पाउन मुस्किल रहेको उनले बताए । 

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सबैजसो गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । उनले जहाज संख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको बताए । 

विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रीको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपत्तिका घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढेको छ ।

एकैदिन ३५ हजारभनदा बढीले गरे हवाईयात्रा

बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल निकै भीडभाड हुने गरेको छ । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् । 

असोज १५ गते दुवैतर्फ गरी ५११ उडान भएका छन् । उडान संख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ । 

समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान संख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् ।

फ्लाइट राडरका अनुसार मंगलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटकपटक उडान समय परिवर्तन गर्नुपरेको छ ।

दसैँमा रात्रिकालीन हवाई उडान
सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । 

उनले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । 

मन्त्री पाण्डेबा अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्