site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभरिबाटै बाहिरियो मनसुन

काठमाडौं । नेपालका सबै भूभागबाट यो वर्षको मनसुन प्रणाली बाहिरिएको छ । शनिबार (अक्टोबर १२) वाग्मती, मधेस र कोसी प्रदेशबाट पनि मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

“आज मिति २०८१ असोज २६ का दिन यस वर्षको मनसुन वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशबाट बहिर्गमन भएको छ,” शनिबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यीबाहेकका भूभागबाट यसअघि नै मनसुन बाहिरिएको थियो । “मिति २०८१ असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको तथा त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मिति २०८१ असोज २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो,” बुलेटिनमा उल्लेख छ ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ हो । यो वर्ष मनसुन सरदर मितिभन्दा १० दिन ढिलो गरी अक्टोबर १२ मा नेपालबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

हरेक वर्ष मनसुन बाहिरिने क्रम सुदूरपश्चिम प्रदेशबाट सुरु हुन्छ । त्यसपछि क्रमिक रूपमा कोसी प्रदेश हुँदै बहिर्गमन हुन्छ । यसको प्रवेश कोसीबाट हुन्छ । विस्तारै त्यो फैलिएर सुदूरपश्चिमसम्म पुग्छ । हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ ।

गएको जेठ २८ गते यो वर्षको मनसुन नेपाल भित्रिएको थियो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्