site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा एमसीसी निरन्तर रहने

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागु गरिएको ९० दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए ।

यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसीए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २३:४३
प्रतिक्रिया दिनुहोस्