site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हतियार कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार कसरी बिसाउन लगाउनुपर्छ थाहा छ भन्ने जवाफ फर्काएका छन् । 

शनिबार खबरदारीसभामा प्रचण्डले हतियार चलाउन नर्बिसिएको टिप्पणी गरेका थिए । सोही टिप्पणीमा ओलीले आइतबार एनआरएनए स्थापना दिवसमा आयोजित कार्यक्रमबाट जवाफ फर्काएका हुन् । “हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए– हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस् । चलाउन बिर्सेको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने,” ओलीले भने, “चलाउन त चलाउँदैनौँ । हतियार कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,” ओलीले भने । 

ओलीले गैरआवासीय नेपाली सघंको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । सरकारको तर्फबाट सघंलाई कुनै हस्तक्षेप नहुने भन्दै स्वतन्त्र रूपमा काम गर्न आग्रह गरे । “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो,” उनले भने ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्