site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी राष्ट्रपति चुनावमा एलन मस्कको सक्रियता किन ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा एक्स (पुरानो टुइटर)का मालिक एलन मस्क डोनाल्ड ट्रम्पको पक्षमा मतदाता फकाउन सक्रिय छन् । प्रविधिको दुनियाँका शक्तिशाली व्यक्तिमध्ये एक मानिने मस्क खुला राजनीतिमा आउने थोरै अमेरिकी धनाड्यमध्ये एक हुन् ।

५३ वर्षीय मस्क राजनीतिक कार्यकर्ताभन्दा बढी प्राविधिक व्यक्तिका रूपमा परिचित छन् । तर, पछिल्लो समय उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा खुलेआम भोट मागिरहेका छन् । उनी चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । ट्रम्पको चुनावी अभियानलाई लाखौँ अमेरिकी डलर चन्दा दिइरहेका छन् । 

अमेरिकी अर्बपति यसरी खुलेर राजनीतिक समर्थनमा लागेका बिरलै देखिन्छन् । यसको सट्टा उनीहरू पर्दा पछाडिबाट राजनीतिक चलखेल गर्छन् । तर, खुला राजनीतिमा प्रत्यक्ष रूपमा देखा परेपछि उनी यसो गरेर के हात पार्न खोजिरहेका छन् भनेर विभिन्न शंका–उपशंका उब्जिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिशिगन विश्वविद्यालयका प्राध्यापक एरिक गार्डेन भन्छन्, “मस्क गर्वसाथ खुलेआम यस्तो गरिरहेका छन् । यसरी उनी आफूलाई बाटो देखाउने मान्छे बनाउन खोजिरहेका छन् ।”

गैरनाफामूलक ‘ट्रयाकर’ संस्था ओपन सिक्रेटका अनुसार ट्रम्पको समर्थन गर्ने मस्कको राजनीतिक कमिटी ‘अमेरिका पीएसी’ले यो चुनावमा अहिलेसम्म ११.९ करोड अमेरिकी डलर खर्च गरिसकेको छ । यसबाहेक मस्कले व्यक्तिगत रूपमा पनि थुप्रै चन्दा दिएका छन् । अमेरिकी चुनावमा व्यक्तिगत रूपमा सबैभन्दा धेरै चन्दा दिने व्यक्ति पनि मस्क नै हुन् । 

मस्कले ट्रम्पको समर्थनमा मतदातालाई प्रभावित पार्न खर्च गरेको समय र धन देखेर धेरै अचम्मित छन् । पेन्सिलभिनिया राज्यको फोलसम सहरका स्थानीय जेन्डर मन्डी भन्छन्, “कोही मान्छे मतदातालाई प्रभावित पार्न यति समय र धन खर्च गरिरहेको छ भने यसको अर्थ उनले कुनै न कुनै उदेश्यले यो सबै गरिरहेको छ ।”

पेन्सिलभेनियाका सिनेटर जनर फेटरम्यान जस्ता केही नेताहरूले आफ्नो पार्टीलाई मस्कबाट हुनसक्ने खतरालाई अनदेखा गर्न भनेका छन् । फेटरम्यानका अनुसार मस्कले यस्तो वर्गलाई अपिल गरिरहेका छन् जसले उनलाई बुद्धिमान ठान्छन् । डेमोक्रेटिक पार्टीको प्रभाव राम्रो नभएका स्थानका मतदातालाई मस्क प्रभावित पार्न खोजिरहेको फेटरम्यानको बुझाइ छ ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानको प्रमुख अनुहार र आर्कषण बनेका छन् ट्रम्प । ट्रम्पका हरेक चुनावी सभामा पुगेर मस्क दाबी गर्छन्, “डोनाल्ड ट्रम्पले मात्र अमेरिकी लोकतन्त्र बचाउन सक्छन् ।”

मस्कको यो सक्रियता देखेर केही पर्यवेक्षकले उनको उदेश्यमाथि प्रश्न उठाएका छन् । ट्रम्पसँगको सम्बन्धको फाइदा उठाउने उदेश्य लिएर मस्क चुनावी अभियानमा लागेको शंका गर्न थालिएको छ ।

‘इलेक्ट्रिक भेकल चार्जिङ प्लेटफर्म–चार्ज वे’का प्रमुख कार्यकारी अधिकृत म्याट टेस्केका अनुसार मस्कको राजनीतिक झुकाव विद्युतीय सवारी उद्योगमा धेरै मान्छेका लागि अप्ठ्यारो सिर्जना गर्ने माध्यम बन्यो ।

उनी भन्छन्, “मलाई लाग्छ मस्कले आफ्नो व्यवसायको फाइदा हेरिरहेका छन् । विशेषगरी उनलाई अप्ठ्यारोमा पारिरहेका नियमहरू । यसका बारेमा त उनले पहिले नै चिन्ता जाहेर गरिसकेका थिए ।”

मिशिगन विश्वविद्यालयका प्रोफेसर गोर्डेन मस्कको उदेश्यबारे बुझाउन खोज्दै भन्छन्, “मस्क आफूलाई सरकारी नियमको बन्धक ठान्छन् । विज्ञान, प्रविधिका क्षेत्रमा आफूले गर्न खोजिरहेका काममाथि सरकारले हस्तक्षेप गरेको उनको बुझाइ छ, जस्तै बिनाचालकको कार ।”

यता डोनाल्ड ट्रम्पले पनि ५ नोभेम्बरको चुनावमा आफू विजयी भएमा मस्कलाई अमेरिकी सरकारको खर्च कटौती कार्यक्रमको जिम्मा दिने बताएका छन् । मस्कलाई ह्वाइट हाउसको सल्लाहकार बनाउने घोषणा गरेका छन् ट्रम्पले । मस्कले पनि अमेरिकाका अप्ठ्यारा नियम कानुनलाई समाप्त पार्ने अभियानको अगुवाइ गर्न आफू खुला रहेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्