site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण
फाइल तस्बिर : एएफपी ।

जाग्रेब । एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ ।

क्रोएसियाले व्यापक आप्रवासन र घट्दो जनसंख्याको सामना गरिरहेको छ । ३८ लाख जनसंख्या छ । युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन संघर्ष गरिरहेको छ ।

परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारमा निर्भर क्रोएसियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौँ हजार रोजगारीका निम्ति नेपाल, भारत, फिलिपिन्स र अरू ठाउँका कामदारमा भरोसा गरिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तटीय सहर स्प्लिटमा खाना डेलिभरी गर्ने एक कामदारमाथि शारीरिक आक्रमण गरेको आशंकामा पक्राउ परेका चारैजनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।

शुक्रबार रातिको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

उक्त आक्रमणलगत्तै स्प्लिटमा खाना डेलिभरी गर्ने विदेशी कामदारलाई लक्षित गरी अरू तीन घटना भएका थिए, जसमा एक नेपाली गम्भीर घाइते भएका थिए । घाइते हुनेमा अर्का एकजना भारतीय नागरिक थिए भने अरू दुईजनाको राष्ट्रियता खुलाइएको छैन । प्रहरीले तीनै आक्रमणका दोषीको खोजीकार्य जारी राखेको जनाएको छ ।

सन् २०२३ मा क्रोएसियाले ईयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो । यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ । सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार ईयूभन्दा बाहिरका नागरिकका निम्ति वर्क परमिट जारी गरेको थियो ।

राजधानी जाग्रेबका प्रहरीले यो वर्षको सुरुमा विदेशी कामदार, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको संख्या बढ्दै गएको बताएका थिए ।

प्रायजसो घटनामा आक्रमण जातीय नभई डकैतीजन्य थिए । तथापि, आप्रवासीलाई नियमित रूपमा अनलाइनमा सार्वजनिक गर्ने गरिएको छ भने भाषाको अवरोध र बाहिरी व्यक्तिप्रति नकारात्मक दृष्टिकोणले नयाँ श्रमशक्तिका निम्ति बाधा प्रस्तुत गरेको छ ।

क्रोएसियाको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ, जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्