site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कानुन लत्याउँदै सूर्य नेपाल : ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकण्डा 

काठमाडौं । नेपालको कानुनअनुसार कुनै पनि सुर्तीजन्य पदार्थ निःशुल्क बिक्री वितरण गर्न वा उपहार दिन पाइँदैन ।  बिक्री गर्ने सुर्तीजन्य पदार्थको बट्टाको ९० प्रतिशत भागमा नियामक निकायले तोकेको सुर्तीको प्रभावले ग्रसित फोक्सोको तस्बिर र चेतावनीमूलक सन्देश छापिनु पर्दछ । 
तर, नेपालको चुरोट बजारमा करिब करिब ‘एकाधिकार’ चलाइरहेको सूर्य नेपालले यी दुवै नियमलाई लत्याएर आफ्नो नयाँ ब्रान्डको प्रचार प्रसार गरिरहेको छ । 

अहिले बजारमा सूर्य फ्युजन चुरोटको २० खिल्लीको बट्टा किन्न गयोभने पसलेले एउटा सानो ५ खिल्लीको बट्टा सित्तैमा उपहार दिन्छ ।  यसरी उपहार दिनु नेपालको कानुनको खिल्ली उडाउनु र नेपालमा जे गरे पनि सूर्य नेपाललाई कसैले कारवाही गर्न सक्दैन भन्ने घमण्ड देखाउनु हो भनेर बजार विश्लेषकले बाह्रखरीलाई बताएका छन् ।

यो पाँच खिल्लीको ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा न त सुर्तीजन्य पदार्थ ऐन, २०६८ अनुसार कुनै सन्देश छ, न यसमा अन्तःशुल्क कार्यालयको कुनै स्टिकर नै छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो गैरकानुनी काम गरिरहेको सूर्य नेपाललाई बाह्रखरीले यस्तो गलत काम किन गरेको भनेर प्रश्न गर्दा अध्यक्ष रवि केसीले अत्यन्त  गैरजिम्मेवार जवाफ दिएर पन्छन् खोजे ।  कम्पनीलाई बजारमा यस्तो बट्टा गएको जानकारी आएको तर सो कसरी गयो भनेर कम्पनीले अनुसन्धान गरिरहेकोजस्तो अत्यन्त हास्यास्पद जवाफ अध्यक्ष केसीले दिएका छन् ।

कुनै पनि एउटा चुरोट बनाउन, प्याकिङ गर्न र बजारमा ल्याउन करोडौं खर्च लाग्छ । सित्तैमा दिएको चुरोटमा पनि ‘सूर्य फ्युजन’को लोगो स्पष्ट छ । यस्तो काम अरू कसैले किन गर्छ भन्ने प्रश्नको जवाफ केसीले दिन चाहेनन् ।

सूर्य नेपालले आफ्नो नयाँ चुरोटको बिक्री वितरण गर्ने क्रममा काठमाडौंका अधिकांश पसलमा सूर्य चुरोटको प्याकेटसँगै पाँचवटा फ्युजन चुरोट राखेको सानो बट्टा सित्तैमा दिन निर्देशन दिएको छ र धेरै पसलहरूबाट यस्तो बट्टा जोसुकैले सहजै खरिद गरिरहेका छन् ।

यस कार्यबाट सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ को उपदफा (५)मा “कसैले पनि निःशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन,” भनिएको कानुनलाई स्पष्ट ढंगले अवहेलना गरेको छ । 

त्यस्तै सोही ऐनको दफा ९ अनुसार सुर्तिजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलिङको बाहिरी भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असारबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने व्यवस्था छ । 

suryafusion--(2)-1732448995.jpg
 

यो ऐनलाई पनि सूर्य नेपालले बेवास्ता गर्दै सित्तैमा दिइने चुरोटको बट्टामा एक प्रतिशत पनि यस्ता चेतावनीमूलक सन्देश राखिएको छैन ।

यो उपदफामा मन्त्रालयले थप गर्दै, सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भाग चेतानमूलक चित्र राख्नुपर्ने नियमावली बनायो, जसमा ७० प्रतिशत रंगिन चित्र र २० प्रतिशत चेतनामूल सन्देश राख्ने व्यवस्था गरियो ।

यो विषयमा सर्वाेच्चमा मुद्दा परेको थियो । तर, पछिल्लो पटक सर्वोच्च अदालतबाटै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर, पेटी तथा पार्सल प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भाुग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने परमादेश आएको छ ।

तर, सूर्य नेपाल आफूलाई पानी माथिको ओभानो देखाउन कमजोर कोसिस गर्दैछ । 

“ऐन र नियम विपरीत कम्पनीले काम गर्दैन । कुनै वितरकले यस्तो गरेको हुन सक्छ,” अध्यक्ष रवी केसीले भने, “यसको सत्यतथ्य के हो हामीलाई थाहा छैन । म यति भन्न मात्र सक्छु, हामीले कम्पनीको लोगो नभएको बट्टा बजारमा पठाएका छैनौं ।”

तर उनी यसबारेमा अनभिज्ञ रहेको भने पाइएन ।

सरकारले पाउने राजस्व पनि छली 

सरकारले चुरोटबाट अन्तःशुल्क, स्वास्थ्य कर, मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी विभिन्न शीर्षकमा राजस्व संकलन गर्छ ।  तर, सूर्य नेपालले यी चारवटै शीर्षकमा सरकारले पाउने कर छल्न खोजेको छ । किनभने यो कम्पनीले गैरकानुनी रूपमा बजारमा चुरोट बिक्री वितरण गरेको छ । 

चुरोट तथा सुर्तीजन्य उत्पादन गर्ने उद्योगले अन्तःशुल्क स्टिकरबापत प्रतिस्टिकर २५ पैसा, स्वास्थ्य जोखिम करबापत प्रतिखिल्ली ६० पैसा, आयकरबापत ३० प्रतिशत र भ्याटबापत १३ प्रतिशत राज्यलाई तिर्नुपर्छ । 

त्यसैगरी कम्पनीले उत्पादन गरेको सुर्तीजन्य उत्पादनको क्वालिटीअनुसार अन्तःशुल्क लाग्ने पनि बताइएको छ ।  सूर्य नेपालले यसरी चुरोट बिक्री गर्नु अत्यन्त गलत कार्य भएको र यसमा सरकारले कडा कारवाही गर्ने एक उच्च पदस्थ कर अधिकृतले बाह्रखरीलाई बताएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्