site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
समकालीन उपन्यासको स्वर विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा ‘समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

बुधबार प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्यसचिव डा. धनप्रसाद सुवेदी, समीक्षकद्वय राजकुमार बानियाँ तथा अनिता कोइरालाले उपन्यासको समकालीन अवस्था र उपन्यासकार तिवारीको उपन्यासमाथि आफ्नो दृष्टिकोण राखे ।

प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदीले आलोचनात्मक यथार्थवाद नै समकालीन उपन्यासको मूल भएको बताए । उनले पछिल्लो समय उपन्यास धेरै लेखिए पनि कम पढिएको चर्चा गर्दै उनले लेखकले यथार्थप्रति इमानदार हुनुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समीक्षक अनिता कोइरालाले ‘९६ गड्डी’ उपन्यासको चर्चा गर्दै कृतिको विषयवस्तु नेपालमा सर्वत्र व्याप्त भ्रष्टाचार रहेको बताउँदै यस उपन्यासले भ्रष्टाचारको साङ्गो पाङ्ग नाङ्गो रूप देखाएको उल्लेख गरिन् । उनले यो पढ्नै पर्ने उपन्यास भएको बताइन् । 

अर्का वक्ता समीक्षक राजकुमार बानियाँले नेपाली उपन्यासको संख्या ६ हजारभन्दा माथि पुगिसकेको हुनसक्ने भन्दै पढ्नलायक उपन्यास एक सयवटा पनि नभएको बताए । उपन्यासको क्यानभास ठूलो हुने र त्यसमा लेखकले धेरै स्वतन्त्रता पाउने भएकोले सबै उपन्यासतिर आकर्षित भएको हुनसक्ने उनले बताए । 

बानियाँले ‘९६ गड्डी’को चर्चा गर्दै उपन्यासका सवल र केही कमजोर पक्षको चर्चा गरे ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले उपन्यासको चर्चा गर्दै नेपाली समाजको सबैभन्दा ठूलो दुस्मन भ्रष्टाचार नै भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धका उपन्यास अझै धेरै लेखिनुपर्नेमा जोड दिए ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले वर्तमान लेखनीको चर्चा गर्दै यस क्षेत्रमा पनि भ्रष्टाचार हुँदै आएको बताए । उनले नेपालमा अरूलाई लेख्न लगाएर (घोस्ट राइटिङ) आफ्नो नाममा पुस्तक निकाल्ने प्रचलन व्याप्त रहेकोले यो पनि एक किसिमको ठूलो भ्रष्टाचार नै भएको बताए । 

कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, ९६ गड्डीका उपन्यासकार प्रकाश तिवारीले बोलेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्