site stats
बाह्रखरी :: Baahrakhari
देश
हेल्प नेपालको रजत वर्ष महोत्सव : समाजसेवी अभिनन्दित

काठमाडौं । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव, रजत महोत्सव तथा ग्लोबल मिट सम्पन्न भएको छ ।

शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा हेल्प नेपालले परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गर्‍यो । विश्वप्रसिद्ध नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरे ।

यस्तै, डा. रुइतले मानव सेवा आश्रम हेटौँडाका समाजसेवीहरू रामजी अधिकारी र सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी)की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा हेल्प नेपालले मुगुका विर्खबहादुर रोकाया तथा अरू सहयोगीहरू कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदरपत्र प्रदान गर्‍यो ।

सोही अवसरमा नेटवर्कले संस्थालाई प्रारम्भिक समयमा नगद राशि प्रदान गर्दै सहयोग गर्ने सिद्धार्थ राणा, डा. उपेन्द्र महतो, जीवा लामिछानेसहित २५ जनामध्ये उपस्थित व्यक्तित्वलाई सम्मान गर्‍यो । 

कार्यक्रममा डा. रुइतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गरे । संस्थाले डायस्पोरालाई फूलको मालाझैँ बनाएर राखेको भन्दै उनले खुसी व्यक्त गरे । डा. रुइतले भने, “आज नेपालीहरू संसारको कुनाकुनामा छन् । उहाँहरू नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ । त्यसैले उहाँहरूले आएर आफूले सिकेको कुरा हामीलाई सिकाउनुपर्छ ।” 

नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म प्राप्त सहयोग र सद्भावको चर्चा गरे । आउँदा दिनमा पनि यही गतिमा काम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।

डा. भगवान कोइराला, सविता उप्रेती र रामजी अधिकारीले यो अभिनन्दनले आफूहरूलाई काम गर्न थप प्रेरणा र ऊर्जा मिलेको बताए ।

हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा हेल्थपोस्ट, धुलिखेलमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र विपद्को परिस्थितिमा सेवा र सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्