site stats
बाह्रखरी :: Baahrakhari
देश
तिमाङको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको डढेलो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको डढेलो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
    
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले डढेलो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार  डढेलो निभाउने प्रयास जारी छ । 

“आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ ।  डढेलो बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउने प्रयासमा छन्”, प्रजिअ आचार्यले भने, “भिरमा डढेलो भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्यत्र  डढेलो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ । 
    
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि डढेलो नियन्त्रण लिन नसकिएको बताए । 

उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजंगलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।”

सल्लाको काठ, पातपतिंगरले गर्दा डढेलो  बढ्नसक्ने डर रहेको प्रमुख भुजेलले बताए ।  उनले भने, “सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।”

सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजंगलमा डढेलो लागिरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत  डढेलोले नष्ट हुने जोखिम बढेको छ । 
    
“डढेलोका कारण चराचुरुंगी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ । । चराचुरुंगी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ”, कार्यालय प्रमुख भुजेलले भने । उनका अनुसार यस वर्षको मंसिरयता ताल, आइसलेक, पिसाङ भिरमा डढेलो लागेको छ ।

विसं २०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्