site stats
बाह्रखरी :: Baahrakhari
देश
महाशिवरात्रिको ट्राफिक व्यवस्थापन : यी स्थानमा पार्किङ

काठमाडौं । महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको तयारी गरिएको जनाएको छ ।

दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइनेछ ।

यस्तै, पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभिन्न नाका भई भित्रने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले जानकारी दिए ।

धेरै टाढाबाट आउने भक्तजनको सुविधाका निम्ति निर्बाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उक्त कार्यालयले जनाएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्र त्यहाँ सवारी आवागमन निषेध गरिनेछ । र, वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्था गरिनेछ । त्यसका निम्ति करिडोर र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने स्थितिमा ‘डाइभर्सन’ गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

त्यस दिन अर्थात् फागुन १४ गते तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्वेश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भएको अवस्थामा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर, मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफलचौरबाट जयवागेश्वरीतर्फका रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।

सम्भावित सवारीसाधनको चोरी नियन्त्रण र निगरानीका निम्ति सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

शिवरात्रि अवधिभर भक्तजनको सहज आवागमनका निम्ति प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिने कार्यालयले जनाएको छ । आवश्यकताअनुसार थप प्रहरी समेत खटाइनेछ ।

“महाशिवरात्रिको अवधिभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरूलाई निर्बाध रूपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न हामी पूर्ण रूपमा समर्पित भई खटिनेछौँ,” ट्राफिक प्रहरीका प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले भने ।

शिवरात्रिका अवसरमा अरू शिवालयमा हुन सक्ने भीडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरी खटाइने प्रवक्ता राउतले जानकारी दिए ।

dafg-1740390932.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्