site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको व्यापार गर्ने भारतीय नागरिकविरुद्ध ५३ करोड ९८ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध ५३ करोड ९८ लाख ३१ हजार ४४४ रुपैयाँ विगो कायम गरी मुद्दा चलाएको छ । अशोककुमार र उनकी छोरी निवेदिकाले राजस्व चुहावटको कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै विभागले उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगञ्जमा निवेदन दिएको हो ।

विभागमा दर्ता भएको उजुरी/सूचनाउपर सम्पत्ति शुद्धीकरणको कसुरमा जाँचबुझ तथा अनुसन्धान हुँदा प्रतिवादीहरूले राजस्व चुहावटको कसुर गरी सो कसुरबाट आर्जित रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोली कसुरबाट प्राप्त रकम भएको विभागको ठहर छ । बुवा–छोरीले जानीजानी मुद्दती निक्षेपमा जम्मा गरी सोबाट निरन्तर लाभ लिने कार्य गर्नुका साथै सम्पत्तिको स्रोत र स्वरुपमा परिवर्तन गरी गराई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१)को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्यहरू गरेको विभागले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको भन्दै अशोककुमारलाई ३४ करोड २४ लाख ३१ हाजर ४८० रुपैयाँ ८९ पैसा विगो कायम गरिएको छ । त्यस्तै, निवेदिकालाई विगो १९ करोड ७३ लाख ९९ हजार ९६४ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय माग गरिएको छ ।

साथै, प्रतिवादीहरूका नामको बैंक मौज्दात, निवेदिका सिन्हाको नाउँको जग्गा एवं अपार्टमेन्ट खरिदका लागि दिएको पेस्की रकम र सम्पत्ति समेत यही ऐनको दफा ३४ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जफत गरी पाउन मागदाबी गरिएको छ ।

यी दुईले सुन व्यापार गरेर अवैध सम्पत्ति आर्जन गरेर नेपाली बैंकहरूमा खाता खोली सम्पत्ति राखिएको र राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल बुझाएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्