site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपति दर्शन गर्न जाँदा कहाँ गर्ने पार्किङ ? 

काठमाडौं । महाशिवरात्रि पर्वका कारण आज पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको विशेष व्यवस्था गरेको छ । 

दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइनेछ ।

पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभिन्न नाका भई भित्रने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

टाढाबाट आउने भक्तजनको सुविधाका निम्ति निर्बाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उक्त कार्यालयले जनाएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्र त्यहाँ सवारी आवागमन निषेध गरिनेछ । र, वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्था गरिनेछ । त्यसका निम्ति करिडोर र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने स्थितिमा ‘डाइभर्सन’ गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

आज तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएकोे छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्वेश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भएको अवस्थामा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर, मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफलचौरबाट जयवागेश्वरीतर्फका रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।

सम्भावित सवारीसाधनको चोरी नियन्त्रण र निगरानीका निम्ति सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

शिवरात्रि अवधिभर भक्तजनको सहज आवागमनका निम्ति प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको कार्यालयले जनाएको छ । आवश्यकताअनुसार थप प्रहरी समेत खटाइनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्