site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् । बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भए पनि नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भए पनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए । कल सेन्टरको स्थापना गरेर भए पनि जनताका समस्या समयमै समाधान गर्न मन्त्री यादवको निर्देशन छ ।

उनले सरकारले बनाएका पानी ट्यांकीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्यांकीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने उल्लेख गरे ।

मन्त्री यादवले भने, "खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरैजसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर, कसरी संस्था नोक्सानमा गयो । कसको कारणले गयो ? त्यसकारणले गर्दा संस्थाप्रति इमान्दार भइदिन आग्रह गर्दछु ।"

 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्