site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रको तराई मधेस जागरण अभियान तत्काललाई स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका निम्ति ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगन गरिएको जनाएको छ ।

मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ तत्काललाई स्थगन गरिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्त्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ,” उनले भने, “आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्व समेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।”

प्रवक्ता सापकोटाले आउँदो चैत महिनाको सुरुआतदेखि पुनः अभियान सञ्चालन गरिने बताए ।

झापाबाट सुरु अभियान शनिबार (फागुन २४) रौतहट पुगेर स्थगन गरिएको हो । अभियान स्थगनसँगै आइतबार (फागुन २५) पार्टीको पदाधिकारी बैठक बोलाइएको छ ।

अभियानअन्तर्गत आज रौतहटकेन्द्रित कार्यक्रम आयोजना गरिएको थियो । पार्टीले आइतबार पर्सा र सोमबार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गरिने जनाएको थियो । रासस

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्