site stats
बाह्रखरी :: Baahrakhari
देश
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौ घरगोठ जलेर नष्ट भएको छ । डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।

गएको आइतबार रातिदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । “गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गए राति निभाउन सफल भयौँ,” वडाध्यक्ष देवेन्द्रकुमार राईले भने, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ । त्यसलाई निभाउने प्रयास गरिरहेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डढेलो निभाइएपछि सदरमुकामबाट खटिएका नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको टोली फर्काइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । “जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल प्रतिघरपरिवार नगद १५ हजार रुपैयाँ, त्रिपाल र कम्बल एक/एकथान उपलब्ध गराएका छौँ । उनीहरूलाई थप राहत र पुनर्स्थापनाका लागि पहल भइरहेको छ ।”

आगलागी तथा डढेलोले कृष्णबहादुर राईका गाईको माउबाछा, सम्बरबहादुर राईका दुई माउ बाख्रा र च्यानटारका छोटे राईका १० माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका निम्ति छाडिएका छोटे राईका १० माउमध्ये सातवटा जलेर मरेको अवस्थामा भेटिएको थियो । तीनवटा नभेटिएको वडाध्यक्ष राईले जानकारी दिए ।

डढेलोपीडित घरपरिवारलाई नगरपालिकाका तर्फबाट प्रतिघर १० हजार रुपैयाँका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । “डिकुवामा भएको आगलागीका घटनाको क्षति विवरण आइसकेको छैन । विवरण संकलन गर्न टोली परिचालन गरिएको छ,” उनले भनिन्, “मानवीय क्षति भएको छैन । घटना भएको स्थान सुक्खाग्रस्त भएकाले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।” रासस

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्