site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए । सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले शिक्षकका मागहरू सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए । उनले शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो ? भन्दै प्रश्न गरे ।

उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताए । "कम्युनिस्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाइ लाख शिक्षकहरू हाल आन्दोलनमा छन् । सडकमा छन् । तर ती शिक्षकहरूको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन्," उनले भने, "अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । शिक्षकहरूको माग सम्बोधन गरौँ भन्ने प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो । हामीले शिक्षामा प्रगतिशिल परिवर्तन गर्छौं भनेका थियौँ । कुरा कहाँ गयो ।"

पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको उल्लेख गरे । केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्