site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनीमा थन्क्याइएका विद्युतीय सवारीमा यस्तो छ सुविधा

रुपन्देही । पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन छन् । एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फन्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ विद्युतीय सवारीसाधन कोषले यहाँ ल्याएको थियो ।

लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच विद्युतीय बस वातानुकूलित, अपांगतामैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट क्षमता छ । भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि ४०० किमि गुड्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा रहेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यानुसार सञ्चालन गर्न अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ ।”

“कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यानुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,” लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यानुसारको प्रयोगमा ल्याइनेछ ।”

लामो समयसम्म खुला आकाशमुनि एकै ठाउँमा थन्क्याएर राख्दा जाम हुने, बिग्रने र ब्याट्री डिस्चार्ज हुनेजस्ता डर भएर कोषले आन्तरिक प्रयोजनका निम्ति गुडाउँदै गर्दा केही सवारीसाधनमा सामान्य क्षति पुगेको र आउँदा दिनमा त्यस्तो नहुने उनले बताए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्