site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री पर्खेको पर्ख्यै, तर शिक्षक प्रतिनिधि भन्छन्– औपचारिक जानकारी छैन

काठमाडौं । संघीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघ विगत २८ दिनयता निरन्तर सडक आन्दोलनमा छ । रघुजी पन्त शिक्षामन्त्री बनेर आएपछि उनले शिक्षक महासंघका प्रतिनिधिसँग केही चरणमा वार्ता गरे पनि शिक्षक–सरकार वार्ताले सार्थकता पाउन सकेको छैन । 

आज मंगलबार पनि सरकार–शिक्षक वार्ता हुने जानकारी गराइएको थियो । तर, वार्ता सुरु हुन सकेको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वार्ता सुरु हुन नसक्नुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले शिक्षामन्त्री पन्त शिक्षकको पर्खाइमा रहेको तर उनीहरू नआएको बताए । “उहाँहरूको आन्दोलन २ बजेसम्म थियो,” ढकालले भने, “त्यसपछि मन्त्री उहाँहरूलाई पर्खिबस्नुभएको छ ।”
 
यता, शिक्षक महासंघका पदाधिकारीहरूले भने आफूहरूलाई वार्ताबारे औपचारिक जानकारी नै नभएको बताउँछन् । “हामीलाई औपचारिक जानकारी छैन,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बाह्रखरीसँग भनिन्, “शिक्षक सम्बद्व संगठनहरूको चलिरहेको छ । यो बैठक सकिएपछि के गर्ने भन्नेबारे टुंग‍ो लाग्छ ।”

नेपाल शिक्षक महासंघका महासचिवमा तुलाबहादुर थापाले पनि आफूहरूलाई थाहा नभएको बताए । “मन्त्री पर्खिरहनुभएको त होला । तर हामीलाई केही जानकारी छैन,” उनले भने, “महासंघको बैठक चलिरहेको छ । के हुन्छ हेरौँ ।”

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्