site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरूलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाईंले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए । उनले भने, “नेपालबाट विभिन्न रोगका उपचारका लागि भारतका अस्पतालमा जानेको संख्या उल्लेख्य छ, बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फर्मेसन सेन्टरसँगको समझदारी गरिएको हो ।”

समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ । यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ ।

ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागु हुने जनाइएको छ ।

अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरूसहित काठमाडौंको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्