
काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । जारी इजरायल र इरान युद्धले अमेरिकी डलर बलियो बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर बराबर १३८.६७ रुपैयाँ बिक्रीदर तोकेको छ ।
गत जेठसम्म १३६ रुपैयाँ आसपासमा रहेको डलरको मध्यपूर्वमा सुरु भएको युद्धले मूल्य फेरि उकालो लाग्न थालेको हो । गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ नजिक पुगेको थियो । त्यसपछि घटेर १३६ रुपैयाँ आसपास रहेको डलर फेरि केही दिनपछि बढ्न थालेको हो ।
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलरको मूल्य निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाएको थियो । त्यसबेला एक डलर बराबर १४१ रुपैयाँसम्म पुगेको थियो ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको छ । बिहीबार एक डलर बराबर ८६.५७ भारु पुगेको छ । डलरसँग भारु कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग)का कारण भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ । भारतमा डलर सञ्चिति बढेर ६ खर्ब ९६ अर्ब पुगेको छ ।
डलरको भाउ उकालो लागेपछि नेपालका लागि चिन्ताको विषय बनेको छ । निर्यातको अवस्था कमजोर भएकाले नेपाललाई असर पर्छ । यसले आयातित वस्तु थप महँगो हुने देखिन्छ ।
इरान र इजरायल युद्धले मध्यपूर्वमा अस्थिरता ल्याउँदा अमेरिकी अर्थतन्त्र बलियो हुन जाँदा डलरको मूल्य बढेको अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । मध्यपूर्वमा भएको युद्धका कारण स्वेज नहर बन्द हुने अवस्था आएकाले पनि विश्वको व्यापार चक्रमा असर पर्ने उनको भनाइ छ ।
विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्नेछ । रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशत बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ । राष्ट्र बैंकका अनुसार, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड छ । नेपालसँग १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति छ ।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन् ।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ ।
यसैगरी, विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।