site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तरिम आदेशसँगै रिलायन्स स्पिनिङको आईपीओ प्रक्रिया अगाडि बढ्ने 

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्ने भएको छ । पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै कम्पनीको आईपीओ प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको हो ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजालसले बुधबार अन्तरिम आदेश जारी गरेको हो । रिलायन्सको तर्फबाट वैशाख ११ गते आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन माग गर्दै रिट दायर भएको थियो ।

कम्पनीले सार्वजनिक निष्कासनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी बोर्डबाट विवरण पत्र प्रकाशनको लागि स्वीकृति समेत प्राप्त गरेको थियो । तर, बोर्डले ०८१ असार २६ को आईपीओ निष्कासन स्थगित गर्न बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई पत्र पठाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी बोर्डले पत्र काटेपछि ०८१ साउन १४ मा रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया रोक्नुपर्ने आदेश माग गरी उच्च अदालत पाटनमा रिट दायर भएको थियो । सो रिट ०८१ कात्तिक २१ मा खारेज भएको थियो । 

यो रिट खारेज भएपश्चात् विनाआधार, कारण, तथा अख्तियारी  आईपीओ निष्कासन प्रक्रिया रोक्का गरेको भन्दै कम्पनीले पाटन उच्च अदालतमा वैशाख ११ गते रिट दायर गरेको थियो । सो रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

प्रारम्भिक रूपमा नै कानुनसम्मत नदेखिएकोले सो रिट निवेदनको टुंगो नलागेसम्म उक्त रोक्का पत्र कार्यन्वयन नगर्नू÷नगराउनू र उक्त पत्रसँग सम्बन्धित सबै कार्य रोक्का राख्नू भनी अन्तरिम आदेश जारी भएको कम्पनीले जनाएको छ ।

सार्वजनिक लेखा समितिले ०८१ असार २५ गते बोर्डलाई रिलायन्सको आईपीओप्रति उठेका विषय स्पष्ट पार्न पत्र पठाएपछि अर्काे निर्णय नभएसम्म बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई गत वर्षको असार २७ गतेबाट आईपीओ निष्कासन गर्न लागेको थियो । बोर्डको पत्रपछि कम्पनीको आईपीओ निष्कासन स्थगित गरेको थियो ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ जारी गर्न लागेको थियो ।

लेखा समितिले सात दिनभित्र रिलायन्सको आईपीओका विषयमा स्पष्ट पार्न भनेको थियो । कम्पनीले समितिलाई जवाफ पनि पठाइसकेको छ ।

०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्सले स्थापनाको २७ वर्षसम्ममा चार हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताइएको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ ।

यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । 

सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सुती (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ ।

कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो ।

रुफटपमा राखिएको सोलार प्यानलले नौ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्