site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानलाई दिएको सहयोग आतंकवादी गतिविधिमा खर्च गर्न सक्ने भन्दै पुनर्विचार गर्न भारतको आग्रह

काठमाडौं ।  भारतले शुक्रबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई पाकिस्तानलाई दिन लागिएको एक अर्ब अमेरिकी डलरको सहयोग रकम पुनर्विचार गर्न आग्रह गरेको छ । भारतले आईएमएफले पाकिस्तानलाई उपलब्ध गराएको उक्त पैसा आतंकवादी गतिविधिहरूको लागि प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेको छ । 

आईएमएफले पाकिस्तानलाई गत हप्ता एक अर्ब अमेरिकी डलर (७५६ मिलियन पाउन्ड)को आपतकालीन आर्थिक सहयोग मञ्जुर गरीे उपलब्ध गराएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतका रक्षामन्त्री राजनाथ सिंहले गुजरात राज्यको भुजमा सेनाका जवान तथा अधिकारीहरूलाई सम्बोधन गर्दै उक्त आशंका व्यक्त गरेको द इकोनोमिक टाइम्सले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै भारतीय रक्षामन्त्री सिंहले भने, “भारत आईएमएफले दिने कुनै पनि रकम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पाकिस्तान वा अन्य कुनै देशमा आतंकवादी ढाँचा निर्माण गर्न प्रयोग गरोस् भन्ने चाहँदैन ।”

“आजको समयमा पाकिस्तानलाई दिइने कुनै पनि आर्थिक सहयोग आतंकवादी फन्डिङभन्दा कम छैन भन्ने मेरो विश्वास छ,” उनले अगाडि थपे, “पाकिस्तानलाई दिन लागिएको एक अर्ब डलरको सहयोग पुनर्विचार गरोस् र भविष्यमा कुनै पनि प्रकारको सहयोग नदिने निर्णय गरोस् भन्ने भारत चाहन्छ ।” 

रक्षामन्त्री सिंहले शुक्रबार बिहान भुज एयर फोर्स स्टेसन पुगेर समग्र सुरक्षा अवस्थाको समीक्षा गरेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । भारतीय रक्षामन्त्री सिंह मे १० मा भारत पाकिस्तानको चार दिनसम्म चलेको सैन्य द्वन्द युद्धविरामपछि अन्त्य भएसँग सीमा क्षेत्रका सैन्य अड्डाहरूको भ्रमण गरिरहेका छन् । हिजो कश्मीरको श्रीनगरस्थित सैन्य अड्डाको भ्रमण गरेका थिए ।

भारतीय रक्षामन्त्री सिंहले भुज एयर फोर्स स्टेसनमा बोल्दै पाकिस्तानविरुद्ध सञ्चालन गरेको अपरेसन सिन्दूरमा भारतीय सैन्य बलहरूले शत्रुलाई मात्र नियन्त्रणमा लिएनन्, उनीहरूलाई पूर्ण रूपमा पराजित गर्न सफल भएको उनले बताए । आतंकवादविरुद्ध प्रभावकारी अभियान चलाउनमा भारतीय वायुसेनाको भूमिका प्रशंसा गर्दै उनले भने, “हाम्रो वायुसेनाले आफ्नो वीरता, साहस र गौरवका साथ नयाँ उचाइहरू छोएको छ।”

भुजको यो वायुसेना बेस भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य टकरावका बेला पाकिस्तानले आक्रमण गरेका सैन्य ढाँचाहरूमध्ये एक थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्