site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रेमालय, मोटेल अमेरिका र कागजको कुमारीत्व

बृहत् कवितासङ्ग्रह
(कविताकृति : सं. वासुदेव कोइराला)
कविताहरूको एउटा बृहत् सँगालो ठूलै आकारमा छापिएको छ, ‘बृहत् कवितासङ्ग्रह’ नामसहित ।

यो कवितासंग्रहभित्र दुई खण्ड छन् । त्यहाँ पद्य र गद्य कविता छन् । पद्यतर्फ ७६ कविका तीन/तीन कविता छन् । गद्यतर्फ ६८ कविका तीन/तीन कविता समेटिएको छ । कविको परिचय पनि राखिएको छ ।

पहिलो अर्थात् छन्द कविताखण्डमा चन्द्रप्रसाद न्यौपाने, डिल्लीराज अर्याल, भवानी खतिवडा, नजाकत हुसेन खाँ, रामप्रसाद ज्ञवालीलगायत कविका कविता छन् । गद्यतर्फको भागमा अजित रुपाबुङ, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, गोवद्र्धन पूजा, देवकी अभिलाषी, प्रज्वल अधिकारीलगायत कविका कविता छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजकुमार निरौलाले पुस्तकको भूमिकामा लेखेका छन्, “संग्रहका कवितामा प्रतिगामी पक्षको विरोध र अग्रगामी तथा प्रगतिशील बाटोमा लाग्नुपर्ने अभिव्यक्ति छ । उन्नत सामाजिक रूपान्तरणको लागि उत्प्रेरित हुन सकारात्मक सोच र व्यवहारको आवश्यक भएको अभिव्यक्ति कविताहरूमा भेटिन्छ ।”

पुस्तकमा भवानी खतिवडाको कविता ‘भेडो’मा उल्लेख छ– 
समाजसेवी र परोपकारी
हुन् खास नेता गुणका पुजारी
म ठान्दथेँ निश्चयसाथ पैले
देखेर लीला म छु छक्क ऐले !

गद्य कवितातर्फ कवि रसिकराज ‘पाइतलाको जुलुस’मा लेखिएको छ–
सडक सिङ्गो क्यानभास जस्तै देखिन्छ 
लाग्दैछ– केही लेखिदिऊँ उसको छातीमा
एउटा मुटु अथवा एउटा मुख
तर कुची जस्ता पाइतलाहरू 
जुत्ताको बिर्को लाएर हिँडिरहेका छन् ।

मातृभाषा संरक्षण समूह, अमेरिकाद्वारा प्रकाशित ६१६ पृष्ठको यो कविताकृतिको मूल्य ९००/– रुपैयाँ राखिएको छ ।

०००

विश्व महिला कथाकारका कथाहरू 
(अनुवादकथा : अनु. ऋचा शर्मा)
विश्वसाहित्यमा ख्याति कमाएका आख्यानकारहरू छन् । त्यहाँ महिला आख्यानकारको उपस्थिति पनि उस्तै सशक्त पाइन्छ । तिनै महिला आख्यानकारमध्ये केही कथाकारका कथालाई एकै ठाउँमा ल्याएर अनुवाद गरेकी छन् अनुवादक ऋचा शर्माले ‘विश्व महिला कथाकारका कथाहरू’ शीर्षकमा ।

यो अनुवाद कृतिभित्र अलेमिया बाबाएभा, केट चपिन, क्याथरिन म्यान्सफिल्ड, जर्नल क्याउ मा मा–ले, पर्ल एस्.बक, पेनिलोप लाइभ्ली, मिसेल हेन्ज टमस, रेडा ज्याकोब्स, रबेका जी, शशी देशपाण्डे, साउना सिंह बाल्डविन र स्याली मर्ग्यानका कथाहरू छन् ।

मेरो भन्नुमा अनुवादक ऋचा शर्माले लेखेकी छन्, “...राम्रा रचनाहरूबारे सोच्दै जाने क्रममा नारीस्रष्टाका रचनाहरूको समेत खोजी गर्न थालेँ । विश्वसाहित्यमा नारीस्रष्टाको उपस्थिति कति रह्यो वा विश्वव्यापी रूपमै पनि नारीस्रष्टाका कुन कृति गणनामा कति अनूदित रहे भन्ने प्रश्नले मलाई बारम्बार घचघच्याइरह्यो । ... ।”

प्रा. डा. उषा ठाकुले लेखेकी छन्, “विश्व महिला कथाकारका यी प्रतिनिधि कथाहरूलाई नेपालीमा अनुवाद गरेर अनुवादक श्री ऋचा शर्माले एउटा महत्त्वपूर्ण कार्य गर्नुभएको छ । ... ।”

यसभित्र कुल १३ कथा पढ्न सकिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ११२ पृष्ठको यो पुस्तकको मूल्य १६५/– रुपैयाँ राखिएको छ ।

०००

प्रेमालय
(उपन्यास : अश्विनी कोइराला)

पत्रकार तथा उपन्यासकार अश्विनी कोइरालाको उपन्याससंग्रह हो, ‘प्रेमालय’ । उनले यसअघि ‘उनी’, ‘जुकरबर्ग क्याफे’लगायत पुस्तक बजारमा ल्याइसकेका छन् । प्रेमालय उनको पहिलो उपन्यास हो ।

‘प्रेमालयको कथा’मा कोइरालाले लेखेका छन्, “यो मेरो कथा होइन । एकजना स्वप्नद्रष्टा, जसलाई सपनाले निदाउन असम्भव बनाइदिएको थियो – यो पूरा नभएको उनकै कथा हो, जसको साक्षी म हुन पुगेँ ।”

बुक हिलद्वारा प्रकाशित ३०४ पृष्ठको यो पुस्तकको मूल्य ३३३/– रुपैयाँ राखिएको छ ।

०००

मोटेल अमेरिका
(उपन्यास : राजव)
नेपाली आख्यान साहित्यमा चिरपरिचित छन्, उपन्यासकार राजव । कवितासँगै कथा, उपन्यास, निबन्धलगायत विधामा उनको सक्रियता लोभलाग्दो छ । पछिल्लो समय निरन्तर उपन्यास लेखनमा सक्रिय राजवको एउटा अर्को उपन्याससंग्रह हो, ‘मोटेल अमेरिका’ ।

हरेक मानिसको इच्छा हुन्छ एकपटक अमेरिका पुग्ने । अर्थात्, अमेरिका धेरैका लागि सपनाको देश भएको छ यतिखेर । ‘मोटेल अमेरिका’मा पनि अमेरिका पुगेका एक नेपाली युवकको कथाव्यथा समेटिएको छ ।

उपन्यासको ब्लर्बमा लेखिएको छ, “...मूलतः अमेरिकी परिवेशमा लेखिएको छ यो उपन्यास । सैद्धान्तिक आधारमा नेपाली साहित्यका विद्वान्, समीक्षक तथा अन्वेषकहरूले मोटेल अमेरिकालाई उदाहरणीय डायस्पोरिक उपन्यास मानेका छन् । ... ।”

फिनिक्स बुक्सद्वारा प्रकाशित १७६ पृष्ठको यो उपन्यासको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

शिक्षा र नागरिक शिक्षा
(आलेख सँगालो : रमेशप्रसाद गौतम)
शिक्षाविद् रमेशप्रसाद गौतमको शिक्षाप्रतिको लगाव उनको कामले देखाएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै शिक्षा अधिकारीसम्मको अनेक जिम्मेवारीमा रहेर सेवा गरेका गौतमको पछिल्लो पुस्तक हो, ‘शिक्षा र नागरिक शिक्षा’ ।

लेखकीयमा गौतमले लेखेका छन्, “...आधारभूत सीपविना शिक्षा असान्दर्भिक ठहर्दछ । अतः हर केटाकेटीले सिक्नुपर्ने आवश्यक सीप समयमै सिक्नुपर्दछ । यसका लागि शिक्षा नीति निर्माण गर्दा समाज, देश र विश्व परिवेशको अध्ययन र अनुसन्धान गरी आफ्नो समाजअनुकूल व्यावहारिक कुशल सीपको अवधारणसहितको शिक्षा नीति अवलम्बन गर्नुपर्ने विषयभित्र नै यो पुस्तक आधारित छ ।”

यो पुस्तकमा गौतमले ४० आलेख पस्किएका छन् ।

सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित २१६ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।

०००

नेपाली–हिन्दी साहित्यका सेतु : दुर्गाप्रसाद श्रेष्ठ
(व्यक्तित्वग्रन्थ : प्र.सं. डा. गोविन्दराज भट्टराई)
साहित्यकार दुर्गाप्रसाद श्रेष्ठको साहित्यिक सक्रियता लोभलाग्दो छ । साहित्यिक पत्रकारिताका साथै कथा र निबन्धमा लामो समयदेखि कलम चलाउँदै आएका श्रेष्ठ हिन्दी र नेपाली भाषामा साहित्य सिर्जना गर्छन् । उनी कुशल अनुवादक पनि हुन् । उनै श्रेष्ठका बारेमा लेखिएका विभिन्न आलेख समेटेर छापिएको सँगालो हो, ‘नेपाली–हिन्दी साहित्यका सेतु : दुर्गाप्रसाद श्रेष्ठ’ । यसको प्रधानसम्पादक डा. गोविन्दराज भट्टराई हुन् भने सम्पादक हरि गौतम ।

प्रा. डा. भट्टराईले कृतिभित्र लेखेका छन्, “दुर्गाप्रसाद भन्नासाथ एक साहित्य–स्रष्टा, संयोजक, अनुवादक र सम्पादक व्यक्तित्वको योग भन्ने बुझ्नुपर्दछ । प्रस्तुत ग्रन्थमा विविध क्षमता र स्वरूपका दुर्गा दाइका दुई मूल रूप देखिन्छन्— अनेक पाठक/अध्येता, पत्रकारले देखे चिनेका दुर्गाप्रसाद श्रेष्ठ र स्रष्टा स्वयम्ले आफूलाई देखेका दुर्गाप्रसाद श्रेष्ठ । अन्य दृष्टिका र आत्मदृष्टिका पात्र ।”

लामो समय बनारसबाट ‘उदय’ साहित्यिक पत्रिकाको सम्पादन गरेका दुर्गाप्रसादले पुस्तकमा लेखेका छन्, “पत्रिका निकाल्नु लर्तरो काम होइन । यो कुरा पढ्नेलाई भन्दा निकाल्नेलाई थाहा हुन्छ । नत्र ५ लाखप्रति बिक्री हुने ‘धर्मयुग’ (टाइम्स अफ इन्डिया प्रकाशन) किन बन्द हुन्थ्यो ? हिजै पढेँ, ‘रीडर्स डाइजेष्ट’ बन्द भो रे ! यो पनि ‘उदय’ जस्तै लामो अवधिसम्म चलेर बन्द भएको हो । ... ।”

यो ग्रन्थभित्र जीवनी खण्ड, लेख खण्ड, आफ्नै कलमबाट, अन्तर्वार्ता खण्ड, अंग्रेजी खण्डहरूमा थुप्रै आलेख तथा वार्ता समावेश छन् ।

ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित २८२ पृष्ठको यो ग्रन्थको मूल्य ५२५/– रुपैयाँ राखिएको छ ।

०००

कागजको कुमारीत्व
(कवितासंग्रह : त्रिविक्रम पाण्डे)
त्रिविक्रम पाण्डे मूलतः गीतकार हुन् । उनका धेरै गीत स्रोताले सुनेका छन् । बेलाबखत उनी कविता पनि लेख्छन् । उनै गीतकार पाण्डेको कविताकृति बजारमा उपलब्ध छ, ‘कागजको कुमारीत्व’ ।

कृतिभित्र कवि पाण्डेले लेखेका छन्, “मेरो लेखनमा मस्तिष्क पक्षभन्दा बढी हृदय पक्ष हाबी भएको र मैले नारी पात्रलगायत यो समाज एवम् मानव समुदायका विभिन्न चरित्र अनि विविध पात्रहरू बनेर समेत आफ्नो भाव विचारहरूलाई कविताको रूप दिएको यथार्थ पुस्तक अध्ययन गर्नुहुने जो कोहीले महसुस गर्नुहुनेछ भन्ने मैले ठानेको छु । ... ।”

यो संग्रहभित्र कवि पाण्डेका १५० भन्दा बढी कविता पढ्न सकिन्छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २०० पृष्ठको यो कविताकृतिको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

०००

व्यासका तीन आयाम
(समीक्षासंग्रह : प्रा. कपिल अज्ञात)
नेपाली साहित्य र समालोचनाका क्षेत्रमा क्रियाशील प्रा. कपिल अज्ञातको एउटा अर्को पुस्तक हो, ‘व्यासका तीन आयाम’ । यो संग्रहमा उनले साहित्यकार निर्मोही व्यासका विभिन्न कृतिको समीक्षा गरेका छन् ।

कविता, मुक्तक, निबन्ध, खोजमूलक तथा आध्यात्मिक आलेखका संग्रह ल्याइसकेका साहित्यकार अज्ञातको समीक्षा र समालोचनाकृति पनि प्रकाशित छन् ।

पुस्तकभित्र अज्ञातले लेखेका छन्, “बहुमुखी प्रतिभाका धनी व्यासले साहित्यका विविध विधामा कलम चलाएका छन् । उनी कथाकार, उपन्यासकार र सम्पादकका रूपमा पनि सुपरिचित छन् तापनि उनी मूलरूपमा निबन्धकार, कवि र समालोचकका रूपमा देखापरेका छन् । ... ।”

पुस्तकभित्र बधाई दिँदै साहित्यकार गोविन्दराज विनोदीले लेखेका छन्, “... व्यासका कृतिहरूलाई मात्र नभई जीवनलाई समेत नियाल्नुभएका अज्ञातले यस कृतिमा व्यासका बहुआयामिक परिचय दिँदै मूलतः निबन्धकार, कवि र समालोचकका त्रिआयामिक सृजनशीलतामाथि न्यायपूर्ण परिचर्चा गर्नुभएको छ । ... ।”

पुस्तकमा व्यास लिखित विभिन्न कृतिहरूको समीक्षा गरिएको छ । साथै, व्यासमाथि लेखिएका केही रचना र साहित्यकार व्यासका केही रचना समावेश छन् ।

भैरव वाङ्मय प्रतिष्ठान, चितवनद्वारा प्रकाशित ८४ पृष्ठको यो पुस्तकको मूल्य १५५/– रुपैयाँ राखिएको छ ।

०००

हाम्रो मादी राम्रो मादी
(निबन्ध : प्रेमराज सापकोटा)
शैक्षिक क्षेत्रमा लामो समय संलग्न रहेर अवकाश भएका साहित्यकार प्रेमराज सापकोटाले आफ्नो थातथलोको परिचय दिने सोचका साथ पछिल्लो समय लेखेको पुस्तक हो, ‘हाम्रो मादी राम्रो मादी’ ।

यसको लेखकीयमा उनले भनेका छन्, “यो पुस्तक ‘हाम्रो मादी राम्रो मादी’ त तयार भयो, तर विषयवस्तु सत्यतथ्यमा आधारित भएर पस्कन सकेँ कि सकिनँ त्यो मैले भन्ने कुरा भएन, विज्ञ पाठकले निर्णय गर्नुहुनेछ । ... ।”

प्रा. डा. गोविन्दराज भट्टराईले शुभकामना दिँदै लेखेका छन्, “यो कृति अघिको समयमा तयार पारिने भिलेज प्रोफाइलको स्वरूपमा छ । गाउँको सांस्कृतिक पक्ष, अवस्थिति, ठाउँको इतिहास, भौगोलिक संरचना, पर्यावरणीय परिवेश, जाति, वर्ग, तिनका जीवन पद्धति, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कार आदि यस्तैयस्तै कुरा यस पुस्तकमा छन् । ... ।”

यसभित्र मादी क्षेत्रका विविध विषयको जानकारी दिइएको छ ।

त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासीद्वारा प्रकाशित ११० पृष्ठको यो पुस्तकको मूल्य ३२५/– रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्