site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको कपी जाँचमा ढिलाइ, नतिजा कहिले आउँछ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका पाँचलाख बढी विद्यार्थी यतिखेर नतिजाको पर्खाइमा छन् ।  गत वर्षहरुमा नतिजा निकाल्ने प्रक्रियामा व्यस्त हुने  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० पनि यतिखेर पर्खाइमा नै छ । 

कपीजाँच र संकलनका निम्ति तोकिएका पचास केन्द्रमध्येबाट फाटफुटबाहेक तथ्यांक आएको  छैन ।  शिक्षक आन्दोलनका कारण कपी जाँच प्रक्रिया धकेलिएपछि एसईईको नतिजा गतवर्षहरुकै समयमा आउला त ? 

कपीजाँचमा ३२ दिन ढिलाइ पर्खाइमै छ बोर्ड 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षा ऐन जारीको माग राख्दै २०८१ चैत २० देखि आन्दोलनमा होमिएका शिक्षक २९ दिनसम्म काठमाडौंका सडकमै रहे ।  शैक्षिक सत्र सकिएर खाली भएको यही एक महिना गतवर्षमा एसईईको कपीजाँचका निम्ति छुट्याउने गरिएको थियो । 

तर आन्दोलनकै कारण योवर्ष कपीजाँच गर्नमा ३२ दिन ढिलाई भएको रािष्ट्रय परीक्षा बोर्डको भनाइ छ ।  जसका कारण नतिजा एक महिनाभन्दा बढी धकेलिने सम्भावना छ ।  

“कपीजाँचमा ३४ दिन ढिलो भएको छ, हामीकहाँ आएपछि प्रोसेसिङमा ३५ दिन लाग्छ केही केन्द्रहरुबाट नतिजाको तथ्यांक आउन थालेको छ, पचास वटाबाट आइपुग्ने पर्खाइमै छौँ हामी,” परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक गणेश प्रसाद भट्टराईले भने ।

कार्यालयमा सबै केन्द्रबाट नतिजा प्राप्त भएको ३६औँ दिनमा नतिजा सार्वजनिक गर्न सकिने उनले दाबी गरे । “कति छिटो वा ढिलो कपीजाँच र संकलन गरेर हामीलाई प्राप्त हुन्छ,त्यसैमा नतिजा कहिले भन्ने निर्भर गर्छ,” भट्टराईले थपे । 

कपीजाँच एउटै प्रदेशमा नभई अन्तरप्रदेश हुने भएकाले (एउटा प्रदेशमा भएको परीक्षाको कपी अर्कै प्रदेशमा जाँच गर्ने व्यवस्था छ) बर्खायाम र बाटोको अवस्थाले पनि नतिजा संकलनमा प्रभाव पार्ने देखिन्छ । 

यसअघिका वर्षहरुमा शैक्षिक सत्र सकिएको एक महिनासम्म शिक्षकले दैनिक सात घण्टाका दरले कपीजाँच गर्ने गरेको बोर्डको तथ्यांक छ ।  त्यसका निम्ति करिब ३० हजार शिक्षक परिचालित हुने गरेका थिए । र योवर्ष शैक्षिक सत्र सुरु भएपछि मात्रै कपी जाँच थलिएको छ । यो अवधिमा पढाउने र कपीजाँच गर्ने दोहोरो जिम्मेवारी शिक्षकको काँधमा छ । 

सेड्युल नबिग्रिनेगरी काम गर्दैछौँ : महासंघ 

शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ भने एसईईको नतिजामा ढिलाई नहुनेगरी काम गरिरहेको दाबी गर्छ ।  अघिल्ला वर्षहरुकै समयमा नतिजा निकाल्नेगरी कपीजाँच गर्न शिक्षकहरुलाई निर्देशन दिइएको महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउँछन् । 

“कपीजाँच सुरु गर्नमा ढिलाइ भए पनि अहिले शिक्षकहरु द्रूत गतिमा कपीजाँच गरिरहेका छन्, हामीले सेड्युल नबिग्रिनेगरी काम गर्न भनेका छौँ” सुबेदीले बाह्रखरीसित भने । आन्दोलनका कारण नतिजा धकेलिने भएपछि शिक्षकहरु विद्यालय समयभन्दा बाहेक पनि समय दिएर कपीजाँचमा खटिइरहेको उनको दाबी छ । 

गतवर्ष २०८० चैत पहिलो सातादेखि सञ्चालन भएको एसईईको नतिजा असार १४ गते प्रकाशन भएको थियो । 

वर्ष २०८१ को एसईईमा नियमितर्फ चार लाख २१ हजार ५८५,ग्रेडवद्धितर्फ ७५ हजार ५३९ र प्राविधिक धारका १६ हजार गरी कुल पाँचलाख १५ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।  चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षाको मूल्यांकर्न  लेटर ग्रेडिङ पद्धती’ अनुसार हुनेछ ।

कसरी मूल्यांकन हुन्छ लेटर ग्रेडिङ पद्धतिमा ? 

एसईईको मूल्यांकनमा लेटर ग्रेडिङ पद्धति बोर्डले गतवर्षदेखि लागु गरेको हो । जसअनुसार परीक्षार्थीले  सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । 
यो पद्धतीमा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिन्छ ।  लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइन्छ । 

जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ ।  ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ए प्लस हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ । यस्तै ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेड ए हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरुको ग्रेड बी प्लस हुनेछ । 

यस्तै ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेड बी, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र  ग्रेर्ड सी प्लस, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड सी, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेर्ड डी कायम हुनेछ । 

सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा नन ग्रेडेड र जीपीएको वर्ग खाली राखिनेछ ।  प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । 

मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । दुईवटा विषयमा नन ग्रेडेड नतिजा आएका विद्यर्थीले सोही वर्षको ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।  

दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका वा तत्काल भएको ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले नियमित कक्षामा सहभागी भइ पढ्नुपर्नेछ । उनीहरुले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् । 

यदि विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ । गतवर्ष भने ४ लाख ५४ हजार परीक्षार्थीमध्ये ५२ प्रतिशत नन ग्रेडेड भएपछि सबै नन ग्रेडेड सबै विद्यार्थीलाई तत्काल भएको मौका परीक्षाको अवसर दिइएको थियो । 

 
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्