
टाढाबाट चिन्नु र नजिक भएर चिन्नु एकदम फरक कुरा रहेछ । जीवनमा कति मानिससँग भेट हुन्छ, कति मानिसलाई टाढैबाट पढ्ने र जान्नेबुझ्ने अवसर मिल्छ । तर, अति थोरै मानिस मात्र आँखामा छपक्क बसेका हुन्छन्, जस्तोसुकै आँधीहुरी र भेलले नखसाल्ने गरी ।
त्यस्तै आँखाभरि र मनभरि बसेका छन्, नेपाली साहित्य र गीतसंगीतका अमर साधक गणेश रसिक । एउटा अद्भुत व्यक्तित्व, एउटा अविस्मरणीय प्रतिभा ! ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने पंक्ति यिनैका लागि बनेको हुनुपर्छ जस्तो लाग्छ ।
को परिचित को अपरिचित, सबैलाई उस्तै शालीन र भद्र व्यवहारले नजिक बनाउने उनको कलामा नतमस्तक नभइरहन सकिँदैन । मान्छे भएर पनि कति सरल हुन सकेको, गणेश दाइ !
न कुनै लोभ न कसैसँग ईर्ष्या । न खुसी पोखिएर छताछुल्ल भएको अनुभव गर्न पाइने न दुःखले छप्लङ्ङ अँगालो मार्दा पनि न ऐय्या न आत्था ! न कसैसँग गुनासो न कुनै अपेक्षा !
त्यसै भएर सायद जीवनलाई जस्तोसुकै विषम परिस्थितिमा पनि एउटै अविराम गतिमा अघि बढाउन सक्षम बने गणेश रसिक । सबैसँग स्नेहसिक्त व्यवहार । साँच्चै शालीनताका सगरमाथा नै रहेछन् गणेश दाइ, संगत गरेपछि मात्र थाहा भयो ।
उनले गाएका गीतहरू सुनेर सानैमा चिनेको हुँ गणेश रसिकलाई, जसरी अरूले चिने । निर्विवाद छ, उनले गाएका गीतहरू नेपाली सांगीतिक आकाशमा चिरकालसम्म गुन्जिरहनेछन्, कालजयी भएर ।
गाउँबस्ती ब्युँझाउने राल्फाको बाटो भएर यात्राको थालनी गरेका रसिकले पछि लेकाली समूहसँग सांगीतिक जीवनको गतिशील यात्रा अघि बढाए । रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाहरूमा तीन दशक बढी सेवा गरे । तथापि, रसिक सदैव साधारण भएरै हिँडिरहे ।
व्यक्तिगत जीवनमा धेरै उतारचढाव भोगेका गणेश दाइले कसरी चढ्न सकेका होलान् दुःखको सिंगो पहाड ? आँखैअगाडि छोरा, तीन भाइ र पत्नीको अकल्पनीय अवसान भोगेका गणेश दाइका आँखा अरूले देख्ने गरी कहिल्यै रसाएनन् ।
यी कहालीलाग्दा पीडालाई आफूभित्र कसरी दबाउन सकेको ! कति रोए होलान् दाइ एक्लै कसैले नदेख्ने गरी ! अनुमान गर्न पनि कठिन छ । गणेश दाइले आफ्ना अघिल्तिर जतिलाई भेटे अत्यन्तै महत्त्व दिए, जीवनभर ।
ठूलालाई त सबैले आदर गर्छन्, तर सानालाई आदर गर्न तिमीलाई कसले सिकायो दाइ ! मलाई दाइसँग सोध्न मन लाग्छ । पक्कै पनि भोजपुर र इलामको माटोले सिकाएको हुनुपर्छ । त्यहाँको संस्कृति र संस्कारले सिकाएको हुनुपर्छ ।
हुर्किंदै गर्दा, पढ्दै अघि बढ्दै गर्दा स्कुले जीवनमा गुरुहरूलाई कक्षाकोठामा र बाहिर पनि ध्यानपूर्वक तिमीले सुनेको हुनुपर्छ दाइ । त्यसैले त गुरुहरूबाट पाएको संस्कारलाई जीवनपर्यन्त धानिरह्यौ ।
सानैमा मातृस्नेहबाट वञ्चित तिमीले जीवनमा अभावका थुप्रै शृंखला झेल्न बाध्य भयौ । आर्थिक अभावको पहिरोले पुरिँदा र विषाद्पूर्ण क्षण झेल्नुपर्दा जीवनबाटै हार मानेका तिमीले फेरि हार्मोनियम र गीतसंगीतकै माध्यमबाट जीवनलाई लयबद्ध बनाउन सक्यौ ।
बीस वर्षकै उमेरमा २०२४ सालमा ‘क्षितिजलाई छुन खोज्दा’ कथासंग्रह प्रकाशित गरेर सिर्जनशील प्रतिभा देखाएका गणेश दाइले त्यसपछिका दिनमा नेपाली वाङ्मयभण्डारमा एकपछि अर्को कृति थप्दै गए ।
‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरू’ (गीतसंग्र्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरू टेक्दै हिँडे’ (संस्मरण २०५५), ‘बिलाउँदै गएको गीत’ (कथासंग्रह २०५८), ‘दशगजामा उभिएर’ (संस्मरण २०६३), ‘स्वाधीनताको पीडा’ (गीतसंग्र्रह २०६८), ‘पेरुंगो संस्करण’ (पाँच कृति २०७८) लगायत विविध विधाका दाइका कृतिहरूले नेपाली साहित्यलाई थप भरिलो बनाइदिएका छन् ।
‘मेरो अतीत’, ‘अन्तराल’, ‘ओ शून्यता’जस्ता अडियो क्यासेट र सीडी एल्बमजस्ता कृतिहरूमा संगीतसाधक गणेश रसिकका शब्द, स्वर र संगीतको जादु अनुभूत गर्न पाइन्छ ।
यसैगरी, वासु शशीका शब्दमा ‘तिम्रा सपनाहरू’ सीडी एल्बममा रसिकले स्वर र संगीत दिएका छन् । यिनै र यस्तै अनेक कृतिहरूमा अमर भएका छन्, अझ खँदिलो बनेका छन् गणेश दाइ ।
लाहुरे संस्कतिका बीचमा जन्मिएका गणेश दाइलाई आफू जन्मिएको ठाउँ छिनामखुमा ‘नौलो गाउँ प्राथमिक विद्यालय’ स्थापना गर्न कसरी प्रेरणा मिल्यो होला कुन्नि !
दाइको क्रियाशील जीवन लोभलाग्दो छ । ‘लेकाली नेपाल’ र ‘गणेश रसिक फाउन्डेसन’का संस्थापक उनले आफ्नो भौतिक चोला उठ्नुअघिसम्मै ‘रसिक फाउन्डेसन’, ‘वासु शशी स्मृति परिषद्’ तथा सूर्योदय नगरपालिका–९, इलामको ‘रेडियो फिक्कल’को अध्यक्षका रूपमा रहेर नेतृत्व प्रदान गरिरहे ।
गणेश दाइ, आफूभित्र रहेको क्यान्सरजस्तो घातक रोगसँग पाँच वर्षसम्म भिड्दै बाहिर आफ्नो कर्मशीलतालाई निरन्तरता दिइरह्यौ । एक वर्षअघि तिमी नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत थियौ । म पनि पिताजीको अन्तिम उपचारमा थिएँ, सोही अस्पतालमा ।
पिताजीलाई चिकित्सकले अब फेरि अस्पताल ल्याउन नपर्ने गरी घर लैजान भनेका थिए । डिस्चार्जको तयारी हुँदै थियो । त्यसै बेला श्याम प्रधान दाइसँग फोनमा कुरा भएपछि तिमीलाई भेट्न क्याबिनमा पसेँ ।
त्यहाँ उपस्थित आफन्तसँग यसरी मेरो परिचय गरायौ, म अवाक् बनेँ । त्यो क्षण म बाँचुन्जेल कसरी बिर्सन सकूँला र दाइ !
दाइ, तिमीसँगका यस्ता धेरै स्मृति छन् – जसलाई चाहेर पनि सजिलै बिर्सन सक्दिनँ, मलाई थाहा छ । सँगै कपिलधाम पुगेको यात्रा होस् वा वासु शशी स्मृति परिषद्को बैठक अथवा अन्य कार्यक्रम ।
अझ भनूँ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सदस्यसचिव भएका बखत टंगालस्थित निवासमा भेटेको क्षण । पछिल्लो समय भक्तपुरस्थित निवासमा प्राप्त तिम्रो आतिथ्य । यी सबैसबै सम्झिरहेको छु ।
पछिल्लो समय मुलुकको समसामयिक राजनीतिक अवस्थाबाट चिन्तित थियौ तिमी । तिम्रो राष्ट्रभक्तिको प्रशंसकमध्ये म पनि एक हुँ नि दाइ !
‘मेरो अवसानपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नू, लासमाथि सेल्फी खिच्न नदिनू । गुमनाम तरिकाले लैजानू मेरो लास । आर्यघाटमा लैजानू र मेसिनमा हाल्दिनू । सक्छौ भने मेरो अस्तु भोजपुरमा लगेर राखिदिनू, श्रीमती र छोराको चिहानसँगै ।’ आफ्नो अन्तिम इच्छालाई यसरी नै व्यक्त गरेका थियौ तिमीले ।
तिम्रो अन्तिम संस्कारमा देशका थुप्रै स्वनामधन्य सर्जक कलाकारहरूको उपस्थितिका साक्षी हामी थुप्रै थियौँ दाइ । म एकदम सचेत भएर उपस्थित सबैलाई नियालिरहेको थिएँ । अश्रुपूरित थिए सबैका नयन ।
तिमीसँगको भौतिक बिछोडमा दुःखी थिए सबै, तर दाइ नेपाली साहित्य र गीतसंगीतमा तिम्रो योगदानप्रति नतमस्तक पनि थिए । सायद सबैलाई मलाई जस्तै लागिरहेको हुनुपर्छ त्यति बेला, ‘जीवन होस् त गणेश दाइको जस्तो, जसले व्यक्तिगत दुःखको भुमरीमा परेर पनि देशका निम्ति अविस्मरणीय योगदान दिएर गए, कसैले नबिर्सने गरी ।’
मलाई यस्ता अमर साधकको नजिकै पुर्याइदिने वासु शशी स्मृति परिषद्का सदस्यसचिव प्रद्युम्न जोशी दाइलाई कुन शब्दले कृतज्ञता प्रकट गरूँ !
२०८२ जेठ १८ गतेको कालो दिनले तिमीलाई हामीबाट चुँडेर लग्यो । भौतिक रूपमा अब हाम्रो कहिल्यै भेट हुने छैन । तर, हामीले तिमीलाई अक्षरमा पढ्नेछौँ, तिम्रा स्वर र संगीतमा सुन्नेछौँ ।
त्यतिखेर तिमी हामीसँगै हुनेछौ । तर, किनकिन दिनको उज्यालोमा पनि मन एकदम अँध्यारोअँध्यारो भएको छ । तिमी हुन्जेल यस्तो कहिल्यै भएको थिएन ।
तिमीले इच्छा गरेबमोजिम नै विद्युतीय शवदाहगृह आर्यघाटबाट तिम्रो अन्तिम संस्कारको साक्षी बसेर चिसा परेलासँगै भर्खरै फर्किएर यति लेख्न कलम समाएको छु गणेश दाइ !