
काठमाडौं । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’मा प्रिन्सी खतिवडा अनुबन्धित भएकी छन् । प्रिन्सी अनमोलको अपोजिटमा देखिने भएकी हुन् ।
करिब १५ जनाले अडिसन दिएकोमा प्रिन्सी छनोट भएको निर्माणपक्षले जनाएको छ । प्रिन्सीले हिन्दी सिनेमा ‘सपना’मा अभिनय गरिसकेकी छन् । रिलिज हुन भने बाँकी छ ।
आठवटा हिन्दी गीतको भिडियोमा उनले अभिनय गरिसकेकी छन् । नेपाली ७० वटाभन्दा धेरै गीतमा उनले अभिनय गरेकी छन् ।
‘बाटुलो जुन’को केही सिन अर्को हप्ताबाट छायांकन हुँदै छ । पानी परेको सिन चाहिएकाले करिब एक साता यो सिनेमाको छायांकन नौबिसेमा हुनेछ ।
बाँकी छायांकन अनमोल केसीले ‘जेरी अनटप’को सुटिङ सकेपछि भदौमा हुनेछ ।
यो चलचित्रलाई भुवन केसीले निर्देशन गर्दैछन् ।
‘बाटुलो जुन’ले नेपाली ग्रामीण समाजको कथा भन्नेछ । गाउँको सेटअपमा यो सिनेमाले कथा भन्नेछ । तर, पूरै गाउँलेको भूमिकामा भने अनमोल देखिने छैनन् ।
चलचित्र सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुनेछ । चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्नेछन् ।