site stats
बाह्रखरी :: Baahrakhari
कला
व्यक्तिगत झगडाको छायामा गीत

काठमाडौं । रहर हुनेले आफूले चाहेअनुसारको गीत गाउन सक्ने संगीतकर्मीले बताएका छन् । गीत गाउन कसैले कसैलाई रोक्न नसक्ने उनीहरूको धारणा छ ।

कुन गीत चल्ने/नचल्ने, भाइरल हुने/नहुने त्यो स्रोतामा निर्भर रहने संगीतकर्मी बताउँछन् । हरेक खालका गीतका आआफ्ना स्रोता र लोकप्रिय बनाउने/नबनाउने निर्धारण गर्ने शक्ति उनीहरू नै हुने संगीतकर्मीको मत छ ।

कुन समय कस्ता गीत चल्छन् भन्ने निश्चित हुँदैन । केही हदसम्म बजारीकरणको तौरतरिकाले पनि गीतको सफलता/असफलता निर्धारण गर्ने उनीहरूको बुझाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायिका आनी छोइङ डोल्मा उमेरअनुसार संगीत स्रोता हुने बताउँछिन् । विषयको छनोटमा पनि उमेरले प्रभाव पार्ने उनको अनुभव छ । “पश्चिमी शैलीबाट नेपाली संगीत प्रभावित भइरहेको छ । त्यसैले डाङडुङवाला गीतसंगीत अहिले आइरहेका छन् । चलिरहेका छन्,” उनी भन्छिन्, “समयानुसार संगीत चल्ने रहेछ । पहिले सुत्केरीको निहुँ गरी..., भैँसी लड्यो है माया... जस्ता लोकगीत चल्थ्यो । अहिले अर्कै खालका गीत चलिरहेका छन् ।”

समयानुसार फरक–फरक शैलीका गीत आउने र पछि पनि पर्ने उनी सुनाउँछिन् । “कहिले एउटा आउँछ, कहिले अर्कै आउँछ । कहिले एक खालको संगीत आउँछ, कहिले अर्कै खालको,” उनी भन्छिन्, “राम्रो/नराम्रो अथवा विकृति हो भनेर मूल्यांकन गर्दा त्यो गलत हुन्छ होला । यसलाई नियमित प्रक्रियाका रूपमा बुझ्नुपर्छ ।”

कुनै संगीत बालबालिकाका निम्ति उचित भए/नभएको बुझ्न भने सकिने आनी बताउँछिन् । बालबालिकाको मनोविज्ञानमा असर पर्ने खालको संगीतप्रति चनाखो हुनुपर्नेमा उनी जोड दिन्छिन् ।

“जस्तै, अहिलेका र्‍यापमा छाडा शब्द र शैली हुन्छ । गालीगलौजको वचन बालबालिकाले नसुने हुन्थ्यो भन्ने चाहना हुुन्छ,” उनी अगाडि भन्छिन्, “बच्चाहरूले नसुनेको अथवा बच्चाहरूलक्षित यो संगीत होइन भनेर मान्ने हो भने अहिलेको केही संगीतमा जे आइरहेको छ, त्यसलाई म विकृति भनेर मान्दिनँ ।”

रहरलेले पनि गाउने गीत नै हो । उनीहरूले आफ्नो क्षमताअनुसार गाउने र रोक्न नसकिने उनी स्पष्ट पार्छिन् । कसैले कसैलाई गाउन पाइँदैन भन्न नहुने उनी बताउँछिन् । 

“वाद्यवादनमा रहेका संगीतकर्मीलाई उनीहरूको पारिश्रमिक दिएर आफ्नो क्षमताअनुसार गाउन सबैले पाउँछ । संगीतलाई श्रद्धा गरेर आउँछ भने पाउँछ,” आनी थप्छिन्, “कस्तो सुन्ने त्यो स्रोतामा भर पर्छ । कसैलाई डाङडुङवाला मनपर्छ, त्यस्तै सुन्छन् । कसैलाई भजन मन पर्छ होला । त्यसैले रुचिअनुसार राम्रो वा नराम्रो सुन्नेले नै छुट्टयाउने होला ।”

समाजमा विभिन्न ‘पत्र’ रहेकाले सबै खालका सिर्जना खपत भइरहेको संगीतकार सुरेश अधिकारी टिप्पणी गर्छन् । खपतको अनुपात भने तलमाथि रहेको उनी बताउँछन् ।

सबै खालका गीत चलिरहेको तर प्रतिक्रिया पाउनु/नपाउनुमा कुन सिर्जनाको हल्ला कति हुन्छ भन्नेमा भर पर्ने उनी सुनाउँछन् । “कोही मान्छे एक्सट्रोभर्ट हुन्छ, कोही इन्ट्रोभट हुन्छ । इन्ट्रोभटले आफूले सुनेको गीतबारे बोल्दैन वा प्रतिक्रिया जनाउँदैन,” सुरेश भन्छन्, “एक्सट्रोभर्टले प्रतिक्रिया जनाउँछ, जसले गर्दा त्यो गीतको कुरा बाहिर आउँछ ।”

प्रतिक्रिया जनाउनेले मन पराउने गीत ‘भाइरल’ हुने ट्रेन्ड रहेको उनी बताउँछन् । प्रतिक्रिया र स्पेसमा प्रचार कसरी गरियो भन्ने विषयको पनि भूमिका रहने उनको भनाइ छ ।

सामाजिक सञ्जालको मारमा गीतसंगीत पनि परिरहेको उनको बुझाइ छ । एकपटक हेरेपछि अल्गोरिदमले त्यस्तै सामग्री रिफर गर्ने भएकाले त्यस्ता गीतसंगीत ‘भाइरल’ भइरहेको उनी बताउँछन् ।

पछिल्लो समय सांस्कृतिक विचलन देखिएको सुरेशको तर्क छ । कुनै मापदण्ड र मर्यादाभित्र बस्नेभन्दा पनि प्राप्त स्वतन्त्रताको उपभोग गर्दै विचलनतर्फ केन्द्रित हुँदा समस्या देखिएको उनी टिप्पणी गर्छन् ।

“आज एउटै प्लेटफर्मबाट धेरै कुरा आउँछ । जुन प्लेटफर्मबाट गीतसंगीत आउँछ, त्यहीँबाट अरू सामग्री पनि आउँछ,” उनी भन्छन्, “गीत र व्यक्तिगत झगडा तथा मुद्दा एकै ठाउँमा हुन्छ । आज गीत होइन व्यक्तिका झगडा हेरेर मनोरञ्जन लिने अवस्था बन्यो ।”

सांस्कृतिक विचलनले ओझेलमा परेका गीतसंगीत भोलि कहाँ पुग्ने भन्ने यकिन नरहेको उनी बताउँछन् ।

गीतसंगीतलाई अब सामाजिक सञ्जालको ‘नेगेटिभिटी’सँग पनि जोडेर हेर्नुपर्नेमा उनी जोड दिन्छन् । “सामाजिक सञ्जालमा नेगेटिभिटी मात्रै देखिन्छ । एकजनाले राम्रो सामग्री तर दुईजनाले नराम्रो सामग्री हेरे भने अग्लोरिदमले त्यही नराम्रो सामग्री अरूकोमा सिफारिस हुन्छ,” संगीतकार सुरेश भन्छन्, “एउटै प्लेटफर्ममा सबै सामग्री आउँदा भाइरलको पछि लाग्नेहरू अघिअघि तर जेनयुन सर्जक र सिर्जनाहरू पछि पर्ने अवस्था छ ।”

गीतकार एकनारायण भण्डारी कुन गीत कसरी चल्छ भन्ने यकिन नहुने बताउँछन् । भारतको ट्रेन्डले पनि यहाँ असर गर्ने उनी सुनाउँछन् । “कहिलेकाहीँ भारतमा कस्ता गीत चलेका छन् भन्ने कुराले पनि नेपालमा अर्थ राख्छ,” उनी भन्छन्, “कहिले–कहिले भारतमा जस्ता खालका गीत चलेका छन्, यहाँ पनि त्यस्तै गीत चलेको देखिन्छ ।”

गीत राम्रो हुँदैमा सधैँ चल्छ भन्ने नहुने उनी स्पष्ट पार्छन् । कहिलेकाहीँ गीत राम्रो र चलाखीपूर्ण डिजाइनले पनि चल्ने उनी बताउँछन् । 

सधैँ काव्यात्मक र गहकिला गीत चल्छन् भन्ने छैन । कहिलेकाहीँ सामान्य विषय र शब्द हुँदा पनि गीत चल्ने उनी सुनाउँछन् । “जस्तै, हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा यसको उदाहरण हो । बीच्चबीच्चमा भन्ने शब्दकै कारण यो गीत चल्यो भन्ने लाग्छ,” उनी भन्छन्, “सामान्य सोचिएका शब्दकै कारण गीत चलेको पनि देखिएको छ ।”

त्यसैले कुन समय कस्ता गीत चल्छन् र हिट हुन्छन् भन्ने यकिन नरहेको उनी तर्क गर्छन् ।

कतिपय गीत जबरजस्ती चलाउने गरिएको गीतकार एकनारायण बताउँछन् । ठूला फेसबुक पेज र टिकटक अकाउन्टमा टिकटक बनाउन लगाउने, युट्युब र फेसबुकमा बुस्ट गरेर जबरजस्ती चलाउने गरिएको उनको भनाइ छ ।

“कतिपय गीत त यस्तो रहेछ भनेर हल्लाकै भरमा चल्यो भन्दाभन्दै पनि चल्दो रहेछ,” एकनारायण भन्छन्, “भाइरल भयो भन्दाभन्दै पनि धेरै गीत हिट भएका छन् ।”

आनी र एकनारायणको धारणामा पफर्मर एवं गायक दुर्गेश थापा सहमत छन् । गीतअनुसार उमेर समूहका स्रोता हुने उनी बताउँछन् । आफ्ना गीतका स्रोता महिला र विद्यार्थी धेरै रहेका दुर्गेश सुनाउँछन् । आफूले गीतको डिजाइन नै त्यसै गरी गर्ने उनको भनाइ छ ।

महिलाका निम्ति तिजको, युवापुस्ताका लागि महादेवको गीत गाएको उनी स्पष्ट पार्छन् । विद्यार्थीका निम्ति आफूले बालबालिकाले विद्यालयमा बोल्ने शब्दको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

आफू कलाकारभन्दा पनि पफर्मर भएकाले कसरी स्रोतादर्शकलाई आकर्षित गर्ने भन्नेमा ध्यान दिने गरेको दुर्गेश बताउँछन् । यही कारण आफूलाई मन पराउने स्रोतादर्शकको संख्या थपिँदै गएको उनको बुझाइ छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्